ताजा अपडेट

होलेरी देविभगवती मन्दिरको जग्गा रेखांकन गर्ने सर्वदलीय निर्णय,पालिकाले प्रक्रिया अघि बढाएन

होलेरी- होलेरी स्थित तिला जाने मोडमा रहेको अतिक्रमीत देवि भगवती मन्दिरको जग्गा प्राविधिक मार्फत मार्किङ गर्ने सर्वदलीय सर्वपक्षिय बैठकको निर्णय कार्यान्वयन भएको छैन।

गत पुस २६ गते होलेरी बजार ब्यबस्थापन समितिको पहलमा जुर्नेटास्थित जेष्ठ नागरिक मिलन केन्द्रमा स्थानिय सरकार रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन सहितको सहभागीतामा बसेको उक्त बैठकले माघ १५ गते भित्र जग्फा रेखांकन गरि सक्ने निर्णय गरिएको थियो।तर निर्धारित समयसिमा गुज्रि सक्दा पनि स्थानीय सरकारले कुनै प्रक्रिया अगाडि बढाउँन सकिरहेको छैन।

तत्कालीन शखी गाविस २ होलेरी जुर्नेटाको भुभाग कित्ता नं ७७ मा २०२७ शालतिर स्थानियहरुले मन्दिर देवि भगवती मन्दिरको निर्माण गरेका थिए।त्यसपछि २०४६ शालमा नापी आउँदा मन्दिरको नाममा नापी गरिएको थियो।तत्कालीन समयमा मन्दिरमा पुजारी समेत बस्ने गरेको रुन्टिगढी ५ का अगुवा समाजसेवी रुद्रमणी शुबेदीले जानकारी दिए।

मन्दिर अंकित नक्सा

त्यसपछि २०५२ शालमा सुरुवात भएको तत्कालीन माओवादी दश बर्षे जनयुद्ध ताका मन्दिरको संरक्षण हुन पाएन।२०६२/०६३ शालमा भएको बृहत शान्ति सम्झौतापछि मन्दिरको जग्गामा मन्दिर पुनर्स्थापना गर्ने कसैले चसो दिएनन्।त्यही बिचमा होलेरीका केही स्थानियहरुले अस्थायी संरचनाहरु निर्माण गरेर प्रयोग गर्न थाले।समयक्रमसंगै अन्य स्थानियहरुले पनि अन्य संरचनाहरु निर्माण गर्दै गए।नक्सामानै मन्दिर अंकित चिन्ह रहेको कित्ता नं ७७ को जग्गामा हाल ब्यक्तिका पक्की घरहरु पनि निर्माण भैसकेका छन्।मन्दिर हिन्दु धर्मावलम्बीहरुले पुजा,आराधना गर्ने साधन समेत हो।शास्त्रमा मन्दिरका आफ्नै महत्व र महिमाहरु उल्लेख छन्।त्यसैले मन्दिरको जग्गामा मन्दिर नै बनाउनु पर्ने माग राख्दै यस भन्दा अगाडि पनि मन्दिर पुननिर्माणका लागि विभिन्न छलफलहरुले निर्णयहरु निकालेका थिए।तर स्थानिय सरकार रुन्टिगढी गाउँपालिकाले ति निर्णयहरु कागजमा सिमित राखेको थियो।त्यसपछि गत पुस २६ गते होलेरीमा हालका पालिका अध्यक्ष जनक पुन,निवर्तमान पालिका अध्यक्ष एवं एमाले नेता बालाराम बुढा मगर,नेकपा एमाले रुन्टिगढी गाउँ कमिटी अध्यक्ष अमराज बस्नेत,विभिन्न वडा जनप्रतिनिधिहरु,शुरक्षाकर्मी,स्थानिय सञ्चारकर्मी,मन्दिरको जग्गामा संरचना निर्माण गरेर उपभोग गरिरहेका केही उपभोक्ता,स्थानिय ब्यापारी लगाएत सर्वसाधारणबिच माघ १५ भित्र मन्दिरको जग्गा रेखांकन गरेर मन्दिर पुनर्निर्माणको काम थालनी गर्ने निर्णय पारित भएको थियो।

सम्बन्धित निर्णय

कागजमा मात्रै लेख्ने निर्णय गरिने भए नगर्न भनेर सहभागीहरुले अल्टिमेटम समय राख्न माग गरेपछि पालिका अध्यक्ष पुनले माघ १५ गतेलाई निर्धारित समय तोक्ने कुरामा सहमति जनाएका थिए। माघ २० गते आइपुग्दा सम्म पनि बजार ब्यबस्थापन समिति र स्थानिय सरकार रुन्टिगढी मौन बसेका छन्।उधारो आश्वासनको निरन्तरता पुरानै किसिमको प्रवृत्तिले स्थानिय सरकारसंग नागरिकको विश्वास घट्दै गएको छ।

पुस २६ गते बसेको सर्व दलिय,सर्व पक्षिय बैठकको तस्वीर

प्रतिक्रिया दिनुहोस