ताजा अपडेट

रुन्टिगढी गाउँपालिकाको सरकारी गाडी काङ्ग्रेस पार्टीको कार्यक्रममा थबाङ गाउँपालिकामा

होलेरी- रुन्टिगढी गाउँपालिकाको सरकारी गाडी पार्टीगत कार्यक्रममा थबाङ लगिएको पाइएको छ।नेपाली काङ्ग्रेसको समुदायमा काङ्ग्रेस अभियानमा सहभागी बन्न रुन्टिगढी गाउँपालिकाका अध्यक्ष तथा नेपाली काङ्ग्रेस रुन्टिगढी गाउँपालिका पार्टी सभापति जनक पुन माघ १६ गते मंगलबार थबाङ पुगेका हुन्।

मंगलबार थबाङको ठूलो गाउँमा कैद गरेर बुधबार सार्बजनिक गरिएको तस्बिर

जनताका सेवाका लागि राज्यले सरकारी सवारी प्रदान गरेको हुन्छ।उक्त सरकारी सवारीहरुमा इन्धन खर्च,मर्मत खर्च तथा चालकको सेवा सुबिधा पनि राज्यनै बेहोर्ने गर्दछ।कुनैपनी सरकारी कार्यालयको सवारी कार्यालयिक काम बाहेक ब्यक्तिगत वा पार्टीगत प्रयोजनका लागि प्रयोग गरियो भने त्यसलाई सरकारी सवारी दुरुपयोग भएको मानिन्छ।

मंगलबार काङ्ग्रेस नेतृ श्रीकुमारी रोका मगरको फेशबूक वालमा रुन्टिगढी गाउँपालिका अध्यक्ष सहित नौलो ठाउँमा गाउँपालिका अध्यक्ष चढ्ने सरकारी सवारीको तस्वीर सार्वजनिक भयो।`हिजो आज´ मात्रै लेखेर सार्बजनिक गरिएका ती तस्वीरमा पालिका अध्यक्ष पुन कार्यक्रममा सहभागी भएको पनि प्रष्ट देखिन्छ।थबाङका स्थानियलाई सोधपुछका क्रममा तस्वीरमा देखिएको उक्त सवारी थाबाङ गाउँपालिका ५ ठूलो गाउँमा मंगलबार हिजो कैद गरिएको पाइएको छ।

सरकारी सवारी पार्टीको कार्यक्रममा अन्यत्र लगेर जान छुट छ कि छैन भनेर जवाफ माग्न फोन गर्दा रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनले कुरा फोन उठाएर होलेरी खबरसंग कुरै गर्न नचाहेर फोन काटेका छन्।अध्यक्ष पुनले संवाद गर्न चासो नदेखाएपछि थबाङ मंगलबार थबाङ गएका अध्यक्ष पुन र संगै लगिएको रुन्टिगढी गाउँपालिकाको स्कर्पिओ जीप कुनै पालिकाको कुनै काममा थबाङ पुर्याइयो भन्ने प्रश्नमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगीले हिजो अध्यक्ष ज्युले गाडी लगेर बाहिर गएको तर कहाँ गएको भन्ने बारे आफूलाई थाह नभएको बताए।

सरकारी सवारी जनताले तिरेको करबाट जनताकै खरिद तथा सञ्चालन गरिएको हुन्छ।राज्यको श्रोत साधनलाई कुनै अमुक पार्टीको कार्यक्रममा लगेर जानू भनेको सवारीको सहि ठाउँमा प्रयोग नहुनु हो।

सनिबारका दिन सरकारी सवारी दुरुपयोग भएको खण्डमा प्रहरीले रोकेर कारबाही गर्न सकिने भएपनी कार्यालय सञ्चालन हुने दिनमा त्यसैमाथी गाउँपालिका अध्यक्ष सवार गाडीलाई रोक्न नमिल्ने रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए।

पार्टीको कार्यक्रममा सरकारी सवारी लगेर जाने कार्य भएको हो भने त्यो गलत हुन्छ।तर आफ्नै पालिका भित्र जनताका सेवाका लागि हिडेको कुरालाई चाहिँ अन्यथा मान्नु हुँदैन।यी कुराहरू स्थानिय सरकार प्रमुख जस्तो जिम्मेवार ब्यक्तिले आफैले सोच्नु पर्ने कुरा हुन्।हाम्रा पनि आफ्नै सिमितताहरु हुन्छन्।त्यसैले यस बिषयमा सम्बन्धितहरु संग नै जवाफ माग्नुस्।बिदाका दिनमा सरकारी सवारी दुरुपयोग अन्य जिल्लाहरुमा भन्दा रोल्पामा हामिले न्यूनीकरण गरेका छौँ भन्ने लाग्छ-प्रमुख जिल्ला अधिकारी घिमिरेले भने।

स्थानिय सरकार निति निर्माण तथा कार्यान्वयन गर्ने जनताको सबैभन्दा नजिकको र जिम्मेवार सरकार हो।निति निर्माण गरेर आफैबाट पालना गरेर सर्वसाधारणहरुलाई सुशासन कायम गर्न प्रेरित गर्नु पर्ने जनप्रतिनिधिहरुले नै मनपरि ब्यक्तिगत तथा पार्टीका कार्यक्रममा सरकारी सवारी दुरुपयोग गरेर जनता र राज्यलाई अनावश्यक आर्थिक भार बोगाउँने क्रियाकलाप गरिनु सकारात्मक परिवर्तनको बिषय भने होईन।

प्रतिक्रिया दिनुहोस