ताजा अपडेट

गाउँपालिका अध्यक्ष सहितको बजार ब्यबस्थापनको निर्णय कार्यान्वयन भएन :होलेरीमा भद्रगोल पार्किङ कायमै

होलेरी- पर्यटकिय स्थल रोल्पाको होलेरी बजारमा सवारी पार्किङमा ब्यबस्थापन हुन सकेको छैन।

बजार ब्यबस्थापन समितिको आह्वानमा सम्पन्न सर्वदलीय सर्वपक्षीय बैठकमा बिहीबार गते साना/ठुला सवारी तत्काललाई विद्युत कार्यालयको मुनिक्को औद्योगिक ग्राउन्डमा पार्किङ गरेर राख्ने निर्णय भएको थियो।

तर मंगलबार साँझसम्म पनि विद्युत कार्यालय मुनिको औद्योगिक ग्राउण्डमा एउटा मात्रै मिनि ट्रक पार्किङ गरेर राखिएको थियो।

टिप्पर,बस,मिनि ट्रक,ट्र्याक्टर,अटो लगाएतका सवारीहरु पहिलेको जस्तै होलेरी बजारको सडक किनारमा पार्किङ गरिएको पाइएको छ।

होलेरी ब्यापारीक केन्द्र,ऐतिहासिक स्थल तथा पर्यटकिय स्थल समेत हो।जथाभावी सवारी पार्किङ गरेर राख्दा दुर्घटनाको जोखिम हुन्छ।यसका शाथै बजार क्षेत्रमा जथाभावी सवारी पार्किङ गर्दा सडक साघुरो बन्ने,बजारको सौन्दर्यतामा कुरुपता देखिने लगाएतका समस्याहरू हुन्छन्।

अहिलेसम्म होलेरी बजारको आफ्नै सवारी पार्किङ स्थल छैन।पार्किङस्थल नहुँदा सवारी सडक किनारमै रोकेर राख्ने बाध्यता थियो।

यहि समस्यालाई समाधान गर्ने उद्देश्यले गत पुष २६ गते बिहिबार होलेरी बजार ब्यबस्थापन समितिले रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन सहित सर्वदलीय सर्वपक्षीय बैठक आह्वान गरेर पार्किङ स्थलको विकल्प खोज्ने प्रस्ताव अघि सारेको थियो।

छलफलका क्रममा होलेरी विद्युत कार्यालय मुनिबाट रहेको औद्योगिक ग्राउन्डमा अल्पकालीन रुपमा निजि तथा सार्वजनिक सवारीहरु पार्किङ गर्ने र दीर्घकालीन रुपमा जुर्नेटास्थत सव-डिभिजन बनकार्यालको भवन नजिकको स्थलका लागि आवश्यक प्रक्रिया चाल्ने निर्णय सर्वसम्मत पारित गरिएको थियो।

तर पार्किङका सम्बन्धमा गरिएको महत्वपूर्ण निर्णय ६ दिनसम्म पनि कार्यान्वयनमा ल्याइएको छैन।

एक-दुई जना सवारी धनीहरुले निर्णय गरिएको भोलि पल्टबाटै उक्त स्थानमा सवारी पार्किङ गर्दै आएतापनी अधिकांश सवारीहरु भने सडक किनारामै भद्रगोल रुपमा पार्किङ गरिदै आएका छन्।

निर्णय किन कार्यान्वयन भएन?

बजार ब्यबस्थापनको निर्णय अनुरुप तोकिएको सवारी पार्किङ गर्ने स्थलका बिषयमा हालसम्म सार्वजनिक सूचना जारी गरिएको छैन।

स्थानिय सरकार रुन्टिगढी गाउँपालिकाको आफ्नै नगर प्रहरी समेत छन्।तर नगर प्रहरीहरु प्रायः बजारमा भेटिदैनन्।कहिलेकाही बजार आउँने गरेपनी उनीहरुले सवारी पार्किङको बिषयलाई कार्यान्वयन गराउन चासो दिएको देखिदैन।

स्थानिय तह मध्येकै एक काठमाडौं महानगरको सबै कुराहरू ब्यबस्थापन गर्न नगर प्रहरी लागि परेको देखिन्छ।तर यता रुन्टिगढीमा नगर प्रहरीहरुलाई कार्यालयमै सिमित गरिएको छ।

होलेरी बजार ब्यबस्थापन समिति अध्यक्ष होम यरीले नगर प्रहरी पठाउँएर सवारी ब्यबस्थापनमा सहजीकरण गर्न स्थानिय सरकार रुन्टिगढीलाई पत्राचार गरेको बताएका छन्।

बजारमा सवारी पार्किङ बोर्ड राखेर पार्किङ सम्बन्धि निर्णय कार्यान्वयन गराउन सबै लागि पर्नु पर्ने ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक देवी प्रशाद घिमिरेले बताएका छन्।

प्रहरी निरीक्षक घिमिरेले जानकारीका अभावले सवारी पार्किङमा यथास्थिति कायम रहेको हुनसक्ने भन्दै सबै निकायहरु मिलेर सवारी पार्किङ ब्यबस्थापन गर्नु पर्ने बताए।

हाल तोकिएको पार्किङ स्थलमा सवारी पार्किङ गर्दा आवश्यक शुरक्षा बिकल्पहरु समेत सम्बन्धित निकायले खोज्नु पर्ने देखिन्छ।

सवारीका ब्याटरी,तेल लगाएत अन्य पार्टपुर्जा चोरी हुने संभावना रहेकाले पार्किङस्थलमा लाइट,सिसि क्यामेरा र रात्रीकालिन ड्युटी हुनु पर्ने सवारी धनिहरुको माग रहेको छ।

प्रतिक्रिया दिनुहोस