ताजा अपडेट

वडा कार्यालय बनाउने ६९ मजदुरले ३ वर्षसम्म पनि ज्याला पाएनन्

रोल्पा- रोल्पाको एक वडा कार्यालयको भवन निर्माणको काम गरेका करिब ६९ जना मजदुरहरुले भवन निर्माण कार्य सम्पन्न भएको तिन बर्ष बितिसक्दा समेत मजदुर गरेको ज्याला नपाएको बताएका छन् । उनीहरुका अनुसार उपभोक्ता समितिले भवन निर्माणको सबै बजेट निकासा गरिसकेको तीन बर्ष बितिसक्दा पनि उपभोक्ता समितिले आफुहरुलाइ काम गरेको ज्याला भुक्तानी नदिएको बताएका छन् ।

रोल्पाको रुन्टिगढि गाउँपालिकाको वडा न. १ (एक) को वडा कार्यालयको भवन निर्माणका लागि भवन निर्माण उपभोक्ता समितिले आफुहरुलाइ २०७५ साल साउन महिना देखि २०७७ साल माघ महिना सम्म भवन निर्माणमा काम गरेको र काम गरे बापतको केही रकम मात्र भुक्तानी पाएको र बाकी रकम हाल सम्म भुक्तानी नपाएको मजदुर तथा मिस्री झपिन्द्र भण्डारीले बताए ।

भण्डारीले भने, ‘भवन निर्माणको काममा गिट्टी कुटेका सामान्य मजदुरले समेत ज्याला पाएका छैनन् र भवन निर्माणमा काम गरे बापत आफुहरुको एउटा मजदुरको न्युनतम दस हजार रुपैयाँ देखी अधिक्तम एक लाख दस हजार रुपैया सम्म गरि करिब चौध लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ ।’

उनीहरुका अनुसार रकम भुक्तानीका लागी उपभोक्ता समितिका पदाधिकारी सङग पटक पटक माग गर्दा समेत नदिए पछी उनिहरुले रकम भुक्तानीका लागि अनुरोध गर्दै स्थानीय वडा कार्यालयमा सामुहिक रूपमा निवेदन दिदा पनि रकम भुक्तानी नहुदा स्थानीय गाउँपालिकाको न्यायिक समितिमा सामुहिक रूपमा निवेदन दिएको बताएका छन् ।

वडा न. १ (एक ) का वडा अध्यक्ष थम बहादुर घर्तीका अनुसार भवन निर्माणको काम गरेका ज्याला नपाएका मजदुरहरुले वडा कार्यालयमा रकम भुक्तानीका लागि सहयोग गरिदिन भन्दै लिखित रूपमा सामुहिक निवेदन दिएकोमा उपभोक्ता समितिका पदाधिकारी र पीडित मजदुरहरु तथा सरोकारवाला ब्यक्तिहरुलाइ बोलाइ छलफल गराउदा समेत समस्या समाधान हुन नसक्दा उक्त निवेदन माथिल्लो निकाय स्थानीय गाउँपालिकामा पठाइदिएको र पीडितहरुलाइ समेत गाउँपालिकाको न्यायीक समितिमा जान भनेको बताए ।

यता रुन्टिगढि गाउँपालिकाका अध्यक्ष जनक पुनका अनुसार पीडितहरुले पालिकाको न्यायीक समितीमा निवेदन दिएको बताउदै छिट्टै नै दुबै पक्षलाई बोलाइ समितिले छलफल गरिदिने र पीडितलाई न्याय दिने बताए ।

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र प्रसाद वलिका अनुसार उपभोक्ता समितिले पटकपटक गरि पालिका बाट करिब सहत्तर लाख रुपैयाँ भुक्तानी लिएको बताउदै सोही बजेट रकम बाट भवन निर्माणका लागि एक रोपनी जग्गाको मुल्य करिब चार लाख रुपैयाँ जग्गादाता लाई दिनु परेको, उपभोक्ताहरुले गर्नुपर्ने जनश्रमदानको करिब २०% रकम पनि सोही बजेट बाट ब्यहोर्नु परेको, कामदार अभावका कारण मिस्री तथा मजदुरहरु लाई पालिकाले निर्धारण गरेको दररेट भन्दा केही बढी रकम ज्याला दिएको र भवन निर्माण स्थल विकट ठाँउमा भएकोले निर्माण सामाग्री ढुवानी समेत महँगो परेको हुँदा पालिकाले बिनियोजन गरेको बजेट रकम अपुग भएकोले मजदुरहरु लाई ज्याला भुक्तानी दिन नसकेको बताए ।

भवन निर्माण उपभोक्ता समिति गठन गर्दा नेकपा एमालेको तर्फ बाट अध्यक्ष मा योगेन्द्र प्रसाद वलि, काेषाध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट भिम बहादुर बुढा र सचिबमा नेपाली काङ्ग्रेसको तर्फबाट मतिकला केसि गरि नौ सदस्यीय समिति गठन गरिएको अध्यक्ष वलिले बताए ।


news24 बाट साभार

प्रतिक्रिया दिनुहोस