ताजा अपडेट

कर्मचारी नियुक्तिमा रुन्टिगढीको अर्को कर्तुत:पदपूर्तिको सूचना सार्वजनिक नगरेरै कार्यालय सहयोगी नियुक्त(भिडियो सहित)

होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिकाले कर्मचारी नियुक्ति गर्न मनपरि गरेको पाइएको छ।

यहि पुष २२ गते रुन्टिगढी गाउँ कार्यपालिका सदस्य रेस्मा बहकरीको बुहारी रुन्टिगढी वडा नं ८ कि मनिषा बुढाथोकीलाई गाउँपालिकाले कृषि शाखाको कार्यालय सहयोगी पदमा नियुक्ति गरेको छ।

आवश्यक कर्मचारी नियुक्ति गर्नु स्वभाविकै भएपनि पालिकाले कर्मचारी नियुक्तिको सार्वजनिक सूचना कतैपनि प्रकाशन नगरेर एकाएक कर्मचारी नियुक्ति गरेर निति र बिधिको धज्जी उडाएको छ।

कार्यकर्ता भर्ती र महिला नगर प्रहरी पदको नतिजा ५ महिनासम्म सार्वजनिक नगरेको आरोपमा विवादित बनिरहेको स्थानिय सरकार रुन्टिगढी एकपछि अर्को अनियमितता र अपारदर्शीताका नयाँ-नयाँ गतिविधिहरु प्रदर्शन गरिरहेको छ।

कार्यपालिका सदस्य बहकरी नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन्।उनकी बुहारी मनिषा बुढाथोकीलाई बिना प्रतिस्पर्धा कर्मचारी आवश्यक्ताको सूचना सार्वजनिक नगरेर गाउँपालिकाले गुपचुप रुपमा पुष २२ गते रुन्टिगढी गाउँपालिका कृषि शाखामा नियुक्त गरेको पाइएको छ।

स्थानियस्तरमै कर्मचारी आवश्यक रहेको दरबन्दीमा स्थानियलेनै जागीर खानु आपत्तिको बिषय नरहेपनि प्रक्रिया नपुर्याएर गुपचुप रुपमा नियुक्ति गरिनु निति/बिधि र पद्धति बाहिरको काम भएको जानकारहरु बताउँछन्।

नवनियुक्त बुढाथोकी आफैलेपनि कुनै परिक्षामा आवद्ध नभएर सिधै पालिकाबाट नियुक्ति गरेको स्विकार गरेकि छन्।

उनलाई हाजिर समेत गराइएको छ।

हाजिरी कापि

यस अघिका कार्यायलय सहयोगी नियुक्तिमा समेत पालिकाले बिज्ञापन सार्वजनिक गर्ने गरेको थियो।तर यसपाली फरक बाटो रोजेको देखिन्छ।

रुन्टिगढी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगीले कार्यपालिका निर्णयनै भएकाले सो पदमा कर्मचारी आवश्यक्ताको सूचना बिनानै नियुक्ति गरिएको बताएका छन्।ज्यालादारीको पद भएकाले कार्यपालिकालाई सिकाउँदै आफू पन्छिए।
उनले भने `कार्यपालिकाले निर्णय गरिसकेको बिषय भएकाले पदपूर्तिको बिज्ञापन गर्नु उचित नहुने भएकाले हामिले नियुक्ति गरेका हौँ।कतिपय कुरामा बाध्यता हुन्छ।´

तर कार्यपालिकाका सदस्यहरूले भने यस्तो किसिमको कुनै पनि निर्णय आफूहरूले नगरेको बताएका छन्।

नेकपा माओवादी केन्द्रबाटै निर्वाचित रुन्टिगढी गाउँपालिका वडा नं ८ कि वडा अध्यक्ष तथा गाउँ कार्यपालिका सदस्य तुल्सी पुनले यस बिषयमा आफू अनबिज्ञ रहेको बताएर पन्छिएकी छन्।

उनले कुनैपनि भागबन्डाको गतिविधि र सबैले प्रतिस्पर्धा गर्न पाउँने सार्वजनिक अधिकारमा बिना प्रतिस्पर्धा आफ्नो दल निकटकालाई जागीर खुवाउन कतै हस्ताक्षर गरेको भए कान समातेर जनतासामु माफी माग्ने भन्दै उल्टै आक्रोश व्यक्त गरिन्।

त्यस्तै रुन्टिगढी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिका सदस्य गणेश गिरीले पनि कार्यपालिकामा कहिल्यै यस्तो प्रकारको निर्णय नगरिएको दावी गरेका छन्।

रुन्टिगढी गाउँपालिका उपाध्यक्ष एवं गाउँपालिका न्याय समिति संयोजक सरिता के.सी.ले सुचना सार्वजनिक नगरेर कर्मचारी नियुक्ति गर्ने भन्ने कार्यपालिकाको बैठकमा आफ्नो उपस्थिति नरहेको भन्दै उम्कन खोजिन्।

पहुँचमा भएका र पदिय जिम्मेवारीमा रहेका ब्यक्तिका नातेदारहरुलाई सानो/ठूलो विभिन्न पदमा धमाधम नियुक्ति गरेर जागिर दिने स्थानिय सरकारको अपारदर्शी गतिविधिले पहुँच नभएका बिपन्न सर्वसाधारणमा भने निराशा पैदा गरिरहेको छ।

सुशासन,पार्दर्शीता,निति,विधि र पद्धति लोकतान्त्रिक ब्यवस्थाको मुख्य आधारहरू हुन्।स्थानिय सरकार भने आफू खुसी बाटोमा रहेको छ।

भिडियो

प्रतिक्रिया दिनुहोस