होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिका स्थायी ठेगाना रहि हाल घोराही उपमहानगरपालिका वडा नं ३ गैरिखुट्टि बस्दै आएकि सालु घर्तीको दुवै मृगौला खराबी भएपछि उनी मृत्युुसंग लडिरहेकि छन्।
३० बर्षिया सालु घर्तीको एक छोरा र एक छोरी गरेर २ नाबालक सन्तान पनि रहेका छन्।
दाङ स्थित अरुको घरमा बस्दै आएका सालुका परिवारको आर्थिक अवस्था कम्जोर रहेको छ।सालू बिगत ६ महिना देखि मृगौला पीडित बनेकी छिन्।त्यस यता आर्थिक अभावका कारण उनको उपचार हुन सकिरहेको छैन।
सालुकै उपचारका लागि धन कमाउन बिदेश पुगेका सालुका श्रीमान भरत घर्ती गएको २ महिनामै घर फर्किए।उनलाई पायल्सको समस्या देखिएपछि कम्पनीले घर फर्काई दियो।त्यसपछि सालुको परिवारमा झनै बज्रपात आइपर्यो।
मृगौला खराबी भएपछि शारीरिक पिडा र पारिवारिक आर्थिक संकट र छोराछोरीको चिन्ताले सालुलाई मानसिक पीडा समेत पर्यो।
आफूहरुसंग भएको र ऋण लिएर सालु परिवारले उपचार त गर्यो तर पर्याप्त आर्थिक नहुँदा सालुको पीडा कम गर्न सकेन।
मृत्यु शैयामा पुगेकि मृगौला पीडित सालुको मनोबल कम भैसकेको थियो।सालुको परिवारसंग न त आर्थिक श्रोत थियो न त सालुको उपचार गर्न सक्ने अवस्थानै थियो?
कठोर र कठिन दिनहरु कटाउँदै आएकि सालुले अब मृत्यु भन्दा कुनै विकल्प देखिरहेकि थिइनन्।अर्थात सालुले मृत्यु स्विकारी सकेकि थिईन्।सालु र उनको परिवारसंग सालुलाई बचाउने कुनै उपाय आफ्नो पहुँचमा थिएन।
एकदिन सालु घर्तीको यस्तो प्रकारको दर्दनाक कहाँनी रुन्टिगढी गाउँपालिका वडा नं ५ का युवा व्यावसायि तथा समाजसेवी निराजन घर्तीले सुने।
त्यसपछि घर्तीले केहि सञ्चारकर्मीहरुलाई आह्वान गरेर सालुको बास्तबिकता सार्वजनिक गरेर सहयोगी हातहरु बढाई दिन आग्रह गरे।समाजसेवी निराजन घर्तीले आफैले पनि आफ्नो सामाजिक सञ्जालहरुको माध्यमबाट `सालु घर्ती बचाउ अभियान´को शुरूवात गरे।
त्यसपछि देश तथा बिदेशमा रहेका सहयोगी हातहरु सालुको उपचारका लागि एकजुट बने।अभियान एक साता भित्र सनिवार आजसम्म सालुका उपचारका लागि करीब ३ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको घर्तीले होलेरीखबरलाई जानकारी दिए।
सहयोग आउँने क्रम जारी छ।हालसम्म करिब ३ लाख रुपैयाँ नगद जम्मा भएको छ।मृगौला पीडित सालु घर्तीलाई काठमाडौंको टिचिङ अस्पतालमा उपचारका लागि पठाउँने तयारी रहेको छ-घर्तीले भने।
दुबैबाट अभियन्ता महेश पुनको सक्रियताले थप रकम संकलनमा सहयोग पुगेको घर्तीले बताए।
सालुको माइती परिवारका सदस्यबाट मृगौला प्रत्यारोपण गर्नेबारे छलफल भैरहेको घर्तीले जानकारी दिएका छन्।
सालु बचाउ अभियानमा जोडिएर सहयोग गर्ने देश तथा बिदेशका सहयोगी दाताहरुकाई समेत घर्तीले आभार ब्यक्त गरेका छन्।
यसका शाथै सालु बचाउ अभियान अन्तर्गत अझै सहयोगी हातहरु अघि बढाउँन अभियन्ता निराजन घर्तीले अनुरोध समेत गरेका छन्।