काठमाडौं- रुसी सेनामा भर्ती भएका दाङको बिजौरीका प्रतिक पुनलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक भएको छ।
युद्ध क्षेत्रबाट रिपोर्टिङ गरिरहेका युक्रेनका पत्रकार आन्द्रे चाप्लिएङ्कले सार्वजनिक गरेको भिडिओअनुसार, नेपाली नागरिक पुनलाई दक्षिण पूर्वी युक्रेनको जापोरिजी क्षेत्रबाट सेनाले कब्जामा लिएको हो। उनी रुसको ७०औं मोटोराइज्ड राइफल रेजिमेन्टको सदस्य रहेको बताइएको छ।
सैनिक पोसाकमा रहेका पुनले आफू विद्यार्थी भिसामा तीन महीनाअघि रुसको राजधानी मस्को आएको बताएका छन्। एक अजेन्टले सेनामा भर्ती गर्न लगेको उनले बताएका छन्।
रुसी सेनासँग भएको कुनै पनि लिखित सम्झौताबारे आफूलाई थाहा नभएको उनले भिडिओमा बताएका छन्। “केही महीनाको तालिमपछि म लडाइँमा गएको थिएँ। म अहिले युक्रेनमा छु,” भिडिओमा पुनले भनेका छन्, ‘नेपालीलाई रुसमा नआउन अनुरोध गर्छु। रुसी राहदानी, पैसा पाउने आसामा यहाँ नआउन आग्रह गर्छु।”
यसअघि युक्रेनी सेनाले रुसी सेनामा भर्ती भएका काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाललाई नियन्त्रण लिएको भिडिओ सार्वजनिक भएको थियो। त्यस्तै गत असोज २७ गतेदेखि बर्दियाका २३ वर्षीय विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा रहेका छन्। ढकाल र पुनका विषयमा परराष्ट्र मन्त्रालयले केही भनेको छैन।
गत सोमबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान गएको जानकारी सार्वजनिक गरेको थियो। नेपालले रूस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन र मृतकका परिवारलाई राहत दिन रूस सरकारसँग माग गरेको छ। साथै नेपालले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नलिन र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसलाई आग्रह गरेको छ।
मन्त्रालयले सम्झौता अन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएको र त्यसबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति नरहेको उल्लेख गरेको छ।
यसैबीच अवैधरूपमा नेपालीलाई रुस पठाउने प्रमुख अजेन्ट पूर्व सुरक्षाकर्मी भएको खुलेको छ। काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १२ जनालाई मंसीर १९ गते सार्वजनिक गर्दै प्रहरीले यस गिरोहमा पूर्व सुरक्षाकर्मी समेत रहेको खुलाएको हो।
भिडियो