बेरुत- सिरियाको उत्तरी क्षेत्रमा सरकारी सेनाको आक्रमणमा परी पाँच महिला र दुई बालबालिकासहित सात जना सर्वसाधारणको मृत्यु भएको छ ।
मानवअधिकार अनुगमन गर्ने संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार, घटना अलेप्पो प्रान्तको देइर हाफेर क्षेत्रमा पर्ने उम्म तिना गाउँमा भएको हो । यो क्षेत्र सिरियन प्रजातान्त्रिक फौज (एसडिएफ) र सरकारी सेनाबीचको सिमा रेखामा पर्छ, जहाँ बेला–बेला झडप भइरहन्छ ।
संस्थाका प्रमुख रामी अब्देल रहमानले यो घटना केही महिनायता उत्तरी सिरियामा सबैभन्दा बढी मानवीय क्षति भएको बताएका छन् । अनुगमन संस्थाले शनिबार बिहानै उक्त क्षेत्रमा ड्रोन र भारी हतियार प्रयोगसहितको सशस्त्र झडप भएको जानकारी दिएको थियो ।
कुर्द नेतृत्वमा रहेको एसडिएफले वक्तव्य जारी गर्दै दमास्कस सरकारसँग आवद्ध टर्की समर्थित समूहहरूले सर्वसाधारणका घरहरूलाई लक्षित गर्दै तोपगोलाबारी र ड्रोन आक्रमण गरेको आरोप लगाएको छ । एसडिएफले पनि मृत्यु हुनेको सङ्ख्या सात जना नै रहेको जनाएको छ ।
सिरियाको उत्तर र उत्तरपूर्वी भूभागमा कुर्दहरूको अर्ध–स्वायत्त प्रशासनले नियन्त्रण जमाएको छ । यो क्षेत्रमा रहेका तेल तथा ग्यास क्षेत्रहरू पनि उनीहरूकै नियन्त्रणमा छन् । एसडिएफ सोही प्रशासनको अस्थायी सेना हो, जसले इस्लामिक लडाकुहरूविरुद्ध सन् २०१९ मा भएको संघर्षमा अमेरिकी नेतृत्वको गठबन्धनसँग सहकार्य गर्दै निर्णायक भूमिका खेलेको थियो ।
गएको वर्ष इस्लामिक शक्तिहरूले पूर्व–राष्ट्रपति बशर अल–असदलाई हटाएपछि, हालका अन्तरिम राष्ट्रपति अहमद अल–शराअ र एसडिएफबीच प्रशासनिक र सैन्य संयोजनको सहमति भएको थियो । तर, विकेन्द्रीकरण सम्बन्धी विवादका कारण उक्त सहमति कार्यान्वयनमा ढिलाइ भएको छ ।
राष्ट्रपति शराअले यसै महिनाको सुरुवातमा भने,“एसडिएफसँगको वार्ता राम्रोसँग अघि बढिरहेको थियो, तर हाल केही अवरोध देखिएको छ । हामी उत्तरपूर्वी सिरियामा युद्ध नहोस् भन्ने चाहन्छौँ र त्यसका लागि सबै प्रयास गरिरहेका छौँ ।” रासस