होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर ५ कार्यालयले स्थानिय स्तरमा पालिएका पशुपंक्षिहरुलाई निःशुल्क चेकजाँच तथा औषधि वितरण शिविर चलाएको छ।
पशु प्राविधिकसहित सर्वसाधारणहरुको घर-घरमा पुगेर पशुपंक्षिहरुको अवस्थाबारे चेकजाँज गरेर कुनै समस्या देखिएमा निशुल्क औषधि उपलब्ध गराउँन थालिएको वडा अध्यक्ष गोबिन्दबहादुर डाँगीले जानकारी दिएका छन्।
वडा अध्यक्ष गोबिन्दबहादुर डाँगीको नेतृत्वमा गाउँपालिका पशु प्राविधिक दिलकुमारी थापा,कृषि प्राविधिक दर्शना खत्री सहितको टोलिले शुक्रवारबाट शिविर सञ्चालनमा ल्याएको वडा कार्यालयले जनाएको छ।
समस्या देखिएका पशुपंक्षिहरुलाई एल्वन्ड झोल,फाचक, साईकिलिन,युरोकिएर,रेविज विरुद्धको खोप दिइएको छ। शुक्रवार ३ सय ४७ वटा बाख्रा,१ सय वटा गाईगोरु, ४ सय ५३ कुखुरा र ८ वटा घर पालुवा कुकुरहरुलाई रेविज विरुद्वको खोप तथा औषधिहरु दिइएको छ।
नेपाल कृषि प्रदान मुलुक भएकाले यहाँका गाउँ समाज कृषिनै आत्मनिर्भरताको मुख्य श्रोत भएकाले स्थानिय कृषकहरुको उत्पादनलाई प्रोत्साहन गर्न आफूहरुले शिविर सञ्चालन गरेको वडा अध्यक्ष गोबिन्दबहादुर डाँगीले जानकारी दिएका छन्।
पशुपंक्षिको घरमै आएर निशुल्क चेकचाँज र उपचार भएपछि सेवाग्राहीहरु हर्षित बनेका छन्।
त्यस्तै शुक्रवार एक कार्यक्रमकाबिच वडा नं ५ कार्यालयले स्थानीय आमा समूहरुलाई आवश्यक सहयोग सामाग्री हस्तान्तरण गरेको छ।
आर्थिक बर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गत आमा समूह तथा गाउँघर खोप क्लिनिक बसाई व्यवस्थापनका लागि लालिगुरास आमा समूह सैबाङ, गाउँघर खोप किल्निक बाइजा,हरियाली आमा समूह जस्पुर,हिउँचुली आमा समूह हापखोला,सगरमाथा आमा समूह धाैलाबाङ,हिमचुली आमा समूह बाइजा र गाउँघर खोप क्लिनिक नयाँगाउलाई जम्मा १०५ मिटर पि-फर्म र ८० थान प्लाष्टिक कुर्सी वितरण सम्पन्न गरिएको वडा कार्यालयले जानकारी दिएको छ।
वडा अध्यक्ष डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण वडा सचिव भगवत घिमिरेले गरेका थिए भने स्थस्नियहरु र वडा सदस्यहरुको उपस्थिति रहेको थियो।