ताजा अपडेट

मन्त्री ज्वालाद्वारा पूर्वाधार विज्ञसँग छलफल

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल गरेका छन् । उनले सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रीत भएर पूर्वाधार विज्ञ सुरेशराज आचार्य, मेघराज घिताल, प्राडा तारानिधि भट्टराई, बिबी देउजालगायतका विज्ञसँग छलफल गरेका हुन् ।

छलफलमा मन्त्री ज्वालाले भौगलिक विकटताले सडक निर्माणका क्षेत्रमा सडक सुरक्षामा देखिएका चुनौतीलाई कसरी समाधान गर्ने भन्ने विषय सरकार गम्भीर रहेको बताए । सडक विस्तार गाउँबस्तीमा पु¥याउनुपर्नेमा जोड दिँदै उनले धेरै गाउँबस्ती चुरे र महाभारत शृङ्खलामा रहेकाले विस्तार गर्न र विस्तार भएका सडकको सुरक्षा गर्न चुनौती बढेको बताए ।

मन्त्रालयका सचिव केशव शर्माले नेपालमा विगत र वर्तमानका सडक अवस्था, भौगोलिक सन्दर्भ, आगामी दिनमा सडकको सुरक्षा र स्थायित्व कसरी हुनसक्छ भन्ने विषयमा गरिएको छलफलबाट यस क्षेत्रमा थप सहयोग पुग्ने बताए ।

छलफलमा विज्ञ टोलीले धेरै खर्चिलो भए पनि देशको भूगोलअनुसार सुरुङ मार्गमा जान सुझाव दिए । जति राम्रो सडक बनाए पनि बाढीपहिरोले सडकको आयु एकदमै छोटो हुने गरेको छ । त्यो समस्या हल गर्न सुरुङ मार्गमा जान र सञ्चालनमा रहेका सडकको तत्काल अध्ययन थाल्न विज्ञ टोलीले सुझाव दिएको छ ।

छलफलमा मन्त्रालयका उच्च अधिकृतको पनि सहभागिता रहेको थियो । रासस/File photo

प्रतिक्रिया दिनुहोस