ताजा अपडेट

कांग्रेस सांसद सुनिल शर्माले संसदबाटै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौं- नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा सुनको मालिकलाई पक्राउ नगरेसम्म अनुसन्धानको लागि सघाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । विगतमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि प्रधानसेनापति प्रकरणमा राजीनामा दिएर मार्गप्रशस्त गरेको सुनाउँदै अहिलेपनि गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

उनले गृहमन्त्री र अर्थमन्त्रीले सुन तस्करीलाई यति दिनसम्म कारबाही गर्छु भनेर पनि आश्वस्त पार्न नसकेको जिकिर गरे । उनले आफूले प्रधानमन्त्री विदेशबाट फर्किएलगत्तै आमरण अनशन सुरु गर्ने पनि चेतावनी दिए । सांसद शर्माले क्विन्टलका क्विन्टल सुन भित्रिँदापनि भरियामात्रै पक्राउ पर्ने र उनीहरुलाई मात्रै जेलमा कुहाउने षड्यन्त्र भएको हो भने आफूले सदनभित्रै आमरण अनशन थाल्ने चेतावनी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस