काठमाण्डौं- त्रिभुवन विमानस्थल भन्सारबाट सय तस्करीको सय किलो सुन भित्रिएसँगै प्रहरीप्रति नागरिकस्तरबाट गम्भीर प्रश्न र आरोप लागेको छ ।
सामाजिक सञ्जालमा सामान्य नागरिकलाई चेकचाँज गर्ने प्रहरी सय किलो सुन भित्रिँदा के हेरेर बसेको थियो भन्ने प्रश्न धेरैले गरेका छन् । कतिपयले त प्रहरीकै मिलोमतोमा तस्करी भएकाले भन्सार कर्मचारी मात्र नभई विमानस्थल सुरक्षामा कटिएका प्रहरी कर्मचारीमाथि समेत कारबाहीको माग गरेका छन् । तर, त्यसो भन्नेहरुले बास्तविकता नै बुझेका छैनन् ।
कारण, हालसम्म विमानस्थल भन्सारमा प्रहरी खटाउने गरिएकै छैन । कार्गोमार्फत आएका सामन विमानस्थलबाट सिधै भन्सार कर्मचारीले लैजान्छन् र भन्सार पास भएपछि सामान बाहिर निकालिन्छ । जहाँ प्रहरीको उपस्थिति र संलग्नता नै छैन । नेपाल प्रहरीका प्रवक्ता कुबेरसिंह कठायतले विभागदेखि नै भन्सारमा प्रहरी खटाउने प्रचलन नरहेको स्पष्ट गरे । प्रहरीले विमानस्थलको अध्यागमन हुँदै बाहिरिने यात्रुको मात्र चेकजाँच गर्दै आएको छ ।
यसैबीच गृह मन्त्रालयले विमानस्थल भन्सार र आगमन कक्षमा भन्सार कर्मचारीसँगै प्रहरी पनि खटाउने प्रस्ताव गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई सातअघि उक्त प्रस्ताव मन्त्रिपरिषदमा लगेको उनका प्रुख स्वकीय सचिव एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय गौतमले बताए । उनका अनुसार विद्युतीय चुरोटमा आएको सुन भन्सारबाटै चोरी भएको घटना सार्वजनिक भएसँगै गृहमन्त्रीले भन्सार र आगमन कक्षमा समेत प्रहरी खटाउने प्रस्ताव लगेका थिए । प्रस्तावप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महत समेत सकारात्मक छन् ।
‘विमानस्थल भन्सार र आगमन दुवैतिर कर्मचारीसँगै प्रहरी पनि खटाउनुपर्ने आवश्यकता महसुस गरेर मन्त्रीज्यूले मन्त्रिपरिषदमा प्रस्ताव लगिसक्नुभएको छ’, गौतमले काठमाण्डुटुडेसँग भने, ‘सकारात्मक छलफल चल्दै गर्दा सय किलो सुन भित्रिएको पर्दाफास भयो, यो प्रकरणले प्रहरी खटाउनैपर्छ भन्ने थप पुष्टि भएको छ ।’
यसअघि पनि भन्सारमा प्रहरी खटाउनेबारे गृह मन्त्रालयले र प्रहरी उच्च नेतृत्वले प्रयास गर्दै आएको थियो । तर, अर्थ मन्त्रालय तयार नहुँदा ती प्रयास सफल हुन सकेका थिएनन् । राजश्व अनुसन्धान विभागले हङकङबाट ल्याइएको सय किलो सुन भन्सार पास भएर बाहिरिएपछि ट्याक्सीबाट पक्राउ गरेको थियो ।काठमाडौं टुडेबाट