रोल्पा- रोल्पा जिल्ला प्रवेशद्वार मध्येको एक महत्वपूर्ण गन्तव्य घोराही होलेरी सडकखण्ड कालोपत्रे भएको केहि महिनामै ध्वस्त भएको थियो।कालोपत्रे ध्वस्त भएको पनि बर्षौँ बितिसक्यो।तर आजसम्म पनि यस सडकको दुर्दशा हेरि नसक्नु छ।हेर्न नै गाह्रो हुने सडकमा यात्रा गर्न झन प्राण दाउमा लगाउने पर्ने बाध्यता र पिडा छ।
शहिदमार्ग भनेर देश परिबर्तनका लागि ज्यान बलिदान दिएका सहिदहरुको सम्बोधन गरेर राज्यले सडकको नाम शहिदमार्ग नामाकरण गरेको छ।घोराहीबाट होलेरी हुँदै थवाङ भएर रुकुम सम्म पुग्ने यो सडक खण्ड रोल्पाका अन्य छिमेकी जिल्ला प्युठान र सल्यानलाई समेत यहि सडक खण्डले जोडेको छ।तर शहिदमार्गमा ठुलाठुला ज्यानमारा खाल्डाहरु बनेका छन्।सडक हिउँदमा धुलोले र बर्षायाममा तिनै ज्यानमारा खाल्डाहरुमा हिलैहिलोले सडक भरिने गर्दछ।शहिदमार्ग आफै शहिद बनिरहेको छ।तर यसलाई सुधार गर्न तथा मर्मत गर्न रोल्पाका कुनैपनि स्थानिय सरकार जिम्मेवार देखिदैनन्।न प्रदेश सरकार जिम्मेवार बनेको छ न त संघिय सरकार नै जिम्मेवार बनेको छ।जिम्मेवारीका हिसाब स्थानिय सरकार अलि बढि जिम्मेवार बन्नु पर्ने हो।किनभने सडक जिर्ण बन्नुमा सिमेन्ट कारखानाका टिप्परहरु मुख्य दोषी छन्।दैनिक सयौँका संख्यामा दाङका विभिन्न कारखानाका टिप्परहरु चुन ढुङ्गा बोकेर अन्धाधुन्ध गुड्ने गर्छन्।टिप्परहरुले बोक्ने चुन ढुङ्गा खानी सबै रोल्पाको रुन्टीगढी गाउँपालिकामै छन्।
सोनापुर सिमेन्ट कारखानाले देशमा संघिय संरचना लागु हुनु अघि नै खानी सञ्चालन गरिसकेको थियो।भारत देखिने मुरुल्ले लेखको फेदिमा अवस्थित सम्राट सिमेन्ट कारखानाको चुनढुङ्गा खानी विवादित थियो।बालाराम बुढा नेतृत्व रुन्टीगढी स्थानिय सरकारका पालामा उत्खनन गरिएको थिएन।प्रक्रियागत ढंगले त्यो बेला के के भएको थियो?त्यो कुरा भने सबै गोप्यनै राखियो तर हालको जनक पुन नेतृत्वको स्थानिय सरकार आएपछि एकाएक उक्त ढुङ्गा खानी सञ्चालनमा आयो र थप सयौँ टिप्परहरु सहिदमार्गमा थपिन पुगे।सहिदमार्ग अहिले झनै ध्वस्त बनिसकेको छ।सहिदमार्ग यात्रा गर्नु पर्दाको जस्तो पिडादायी सजाय अरु कुनै सजाय हुन नसक्ने यात्रुहरू बताउँछन्।एकपटक मोटरसाइकलमा यात्रा गरेपछि अब यो सडक कहिल्यै फर्कन नपरोस् भन्ने कामना गरेको छु।एक यात्रुले भने दुई तिन ठाउँ लडे यो सडकले ज्यान लिन्छ।अब फर्कन नपरोस् उनले भने।
प्रदेश र संघीय सरकार मौन छ।स्थानिय सरकारहरु पनि मौन छन्।उनीहरु सुविधा सम्पन्न गाडीमा सवार गर्छन् तर सर्वसाधारण भने सहिदमार्गसंग निकै पीडित बनिरहेका छन्।शहिदमार्ग अन्तर्गत पनि चुन कारखानाका टिप्पर नचल्ने ठाँउ होलेरी भन्दा अन्य सडक सामान्य नै छ तर घोराही देखि होलेरी बिचमा सडक अब सडक नै रहेन।श्रोतका अनुसार रुन्टीगढी गाउँपालिकामा मात्रै फरक फरक स्थानमा १८ भन्दा बढि चुन ढुंगा खानी दर्तामा छन् यिनिहरु सबै उत्खननको तयारी रहेका छन्।यसरी चुन ढुङ्गा उत्खननको अनुमति दिने स्थानिय सरकार रुन्टीगढी गाउँपालिका भने शहिद मार्ग मर्मत तथा स्तरोन्नतिका लागि आजसम्म जनताका आवाज सम्बोधन गर्न सकिरहेको छैन।शहिदमार्ग ध्वस्त भएकै कारण रोल्पाको पर्यटन र ब्यापार सहित सर्वपक्षिय क्षेत्रमा घाटा पुर्याएको छ।