पार्टी भनेपनि म
अनि, म भनेकै पार्टी
र, पार्टी मेरै प्राइभेट कम्पनी
मेरै निजी सम्पती
अझ मैलाई घुर्की ?
म यस्ताको सर्वनास गर्छु
यो पार्टी वनाउन
गैंती बेल्चा बोके होलान धेरैले
तर, ठेकेदार त मै हुँ
त्यसैले यस्को नाफा सबै मेरै हुन्छ
नभए बालको खाल तान्छु
यो पार्टी बनाउन
पहरा छिचोले होलान लाखौंले
तर, गाडी त मै फन्काउछु
त्यसैले जहाँ लैजाउँ, जे गरुँ मेरो खुसी
नमाने घोक्रेठ्याक लाउछु
यो पार्टी बनाउन
सबैको पसिना बग्यो होला
तर, धनपैसा र शक्ति सोहोर्ने मै हुँ
त्यसैले मेरो बिकल्प सम्भव छैन
ख्याल गर, नत्र म जेपनि गर्छु
यो पार्टी बनाउन
हजारौंको रगत बगे होलान
तर, म त्यसको निर्देशक र योजनाकार हुँ
त्यसैले यो मेरो पेवा बनेको हो
म बाट छिन्ने कोशिषै नगर
नत्र अनर्थ गर्छु
यो पार्टी बनाउन
हजारौं हजारको आँसु पसिना बग्यो होला
हजारौंकै अंगभंग भयो होला
तर सर्वोच्च पदासिन म हुँ
त्यसैले मसँग डराऊ
नत्र तोप पड्काउँछु
जेलनेल र यातनाको कुरै नगरौं
अनि हजारौं बेपत्तापनि भए होलान
तर म यी सबैको प्रायोजक प्रभू हुँ
त्यसैले मसँग निहुँ खोजे
बचे खुचेको सबै प्रलय गर्छु
किनकि
यो मेरो प्राइभेट कम्पनी हो
यो मेरो निजी सम्पती हो
यस्मा अरूको बाहुरे बन्नेमात्र अधिकार छ
म नै हुँ यस्को सर्वेसर्वा
यस्मा मेरैमात्र हक छ
नत्र सर्वनास हुन्छ
राखुँ वा मासुँ मेरो खुसी
माग्नेलाई दिउँ वा नदिउँ मेरो खुसी
यो कम्पनीको लोगोमा बस्नेमन छ भने
मैले भनेजति खुरु खुरु गर
नत्र आफ्नो घाटी बिचार गर
म यो पार्टीको मालिक हुँ
जाबो कामदारले भनेको म किन मान्ने
पहिलेका बिघटनका नमुनाहरु हेक्का राख
म कस्तो हुँ, र के गर्न सक्छु
मेरो पजनीमा नबसे
विघटन गर्छु र अलपत्र पार्छु
कसैलाई बक्सिस दिउ या नदिउ मेरो मर्जी
कसैको ओहोदा बढाउँ या घटाउँ मेरो इच्छा
को लिने, को फाल्ने
मेरो खटन, मेरो तन्त्र, मेरो ब्यबस्था
यसर्थ होस गरेर काम गर
अन्यथा आलाकाचै सक्छु
म तिमीहरूको मालीक भएपनि
मेरो माथिपनि म भन्दा बडा मालीकहरू छन
तिनको मैलेपनि विधिपूर्ण पुजा र भजन गर्नु पर्छ
तर तिमीहरूको त मै मालीक हो
त्यसैले मेरो पुजा र भजन गर
नत्र तहस नहस पार्छु
हुन त, सबै विघटन भै सकेको छ
तैपनि अझै चौराहमा चौतारो त बाँकी छ
शक्ति र प्राण नभएपनि मलामी खेर्ने बहाना छ
र घाट पुगेपनि खाक हुन बाँकी छ
त्यसैले निहुँ खोजे
यैपनि बाकी राख्दिन धुलीसात पार्छु
किनकि,
यो मेरो प्राइभेट कम्पनीको भग्नावशेष हो
देखेको जानेकै कुरा हो
मसँग जोरी खोज्ने कति आए गए
भग्नावशेषै भएपनि
यस्मा म बाहेक कसैको साझेदारी हुन्न
हुन परे पटक्कै जय हुन्न
सबलाई चेतना भया!!
(लेखक”चिन्तन”तत्कालीन माओबादी जनयुद्वका चर्चित सैन्य कमाण्डर हुनुहुन्छ)