तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे सशस्त्र जनयुद्दको उद्गमस्थल एवं केन्द्रीय आधार इलाकाको नामले परिचित छ, रोल्पा । जुन रोल्पाको माटोमा सुनिल, परिवर्तन, ज्वार, दीर्घ जस्ता हजारौं शहीदहरुको रगत सिंचित भएको छ । मुलुक बदल्ने सपना बोकेर बलिदानको अग्रपंक्तिमा मूल्य चुकाउँदै निरन्तर त्याग गर्दा पनि सबैले भुल्दै गएको अर्को नाम पनि हो, रोल्पा । शहीद नभएको घर छैन, अंगभंग नभएको परिवार छैन अनि नजलेका बस्तीहरु भेट्न मुस्किल छ, रोल्पामा । सधैं परिवर्तनको पक्षमा लडिरहने रोल्पाले यो देशको निम्ति महत्वपूर्ण त्याग, तपस्या र बलिदान गर्दै आएको छ, निरन्तररुपमा बिगत लामो समयदेखि । नेपालको हरेक राजनीतिक परिवर्तनमा बलिदानिपूर्ण भूमिका निर्वाह गरेको रोल्पाले थुप्रै रोल्पाली नेताहरु पनि जन्मायो । जनयुद्धले जन्माएका नेताहरु मध्ये क्रमशः कृष्णबहादुर महरा, नन्द किशोर पुन (पासाङ), नेत्रविक्रम चन्द (विप्लव), वर्षमान पुन (अनन्त), झक्कु सुबेदी, ओनसरी घर्ती, जयपुरी घर्ती, सन्तोष बुढा, कुलप्रसाद केसी लगायतको नाम अग्रपंक्तिमा आउने गर्छ।
‘उहाँहरु जाँदा फेरि फर्केर आउँछौं भन्नु भएको थियो तर खै किन फर्किनु भएन ? उमेरले बुढो भैसकें, म त । मर्नु अघि एकपटक उहाँको परिवारलाई भेट्न मन छ ।’
रोल्पाबाट भरुवा बन्दुकले शुरुवात गरिएको जनयुद्दले विश्राम लिएको आज करिब पन्ध्र वर्ष पुग्न थालिसक्यो । जनयुद्द र जनमुक्ति सेनाकै आडमा नेपालमा गणतन्त्रको उदय भयो । संविधानसभाको चुनाव भयो । नयाँ संविधान लेखियो, सँगसँगै संघीयता, धर्म निरपेक्षता, समावेशीता, समानुपातिक लगायत उपलब्धिहरु हासिल पनि गर्यौ, हामी नेपालीहरुले । तर बिडम्बना त्यो रोल्पा आज पनि आफुलाइ न्याय नभएको महसूस गरिरहेको छ । रोल्पालीहरु त्रास, आक्रोश र पीडामा बाँचिरहेका छन्, फेरि पनि।
तत्कालीन जनयुद्दको अवधिमा रोल्पाभित्रको एक परिचित बस्तीको नाम हो, दुम्ला । जहाँ पार्टीलाई आवश्यक पर्ने हातहतियारहरु निर्माण, भण्डारण लगायत सैन्य तालिमहरु सञ्चालन गरिन्थ्यो । त्यतिमात्रै होइन दुम्लामा जनयुद्दको अन्तिमतिर तत्कालीन शाही सेना र माओवादी सेनाहरुबीच तीन दिनसम्म लगातार भयानक दोहोरो भिडन्त समेत भएको थियो । जुन घटना दुम्ला भिडन्तको नामले परिचित छ । हो, यही दुम्ला गाउँमा सेल्टर लिएर बसेका थिए, तत्कालीन नेकपा माओवादीका केन्द्रीय नेता एवं हाल नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र उनका परिवार ।
रोल्पाको इरिवाङमा जन्मिएका विप्लव जनयुद्दभित्रका एक लोकप्रिय एवं प्रभावशाली नेता थिए । विद्यार्थी संगठन हुँदै राजनीतिमा उदायका उनी जनयुद्दको अवधिमा पार्टीको महत्वपूर्ण जिम्मेवारिमा रहेर काम गरे । जनयुद्दकै अवधिमा पार्टीको केन्द्रीय कार्यालयको सचिवदेखि जनमुक्ति सेना नेपालको डिभिजन कमिसारसम्मको जिम्मेवारी सम्हाले, उनले। जनयुद्दको शुरुवात दिनहरुदेखि नै विप्लवको सिंगो परिवार पार्टीमा समाहित भयो । गाउँमा भएको सबै सम्पति पार्टीकरण गरेर जनयुद्दमा होमिएको विप्लवको परिवारले निकै दुःख, संघर्ष र बलिदान गर्नु पर्यो, जनयुद्दको कहालिलाग्दा ती दिनहरुमा ।
साधारण एवं मिलनसार स्वभावका विप्लवको परिवारलाई करिब ४ वर्षसम्म आश्रय दिएको थियो, रोल्पाको यही दुम्ला बस्तीले । जहाँ जनयुद्दको अवधिमा राज्य पक्षबाट ठूला–ठूला सैन्य अपरेसनहरु सञ्चालन गरिँदा पनि निकै दुःखका साथ सुरक्षित राखे विप्लवको परिवारलाई, दुम्लावासीहरुले । आज लामो समय बितिसक्यो, माओवादीले बन्दुक बिसाएको तर ती माओवादीका नेता विप्लव र उनको परिवार कहिल्यै फर्केर आएनन्, यो बस्तीमा । निकै सम्झिरहन्छ, यो बस्तीले विप्लवलाई । याद गरिहन्छन्, दुम्लावासीले उनका परिवारलाई । शान्ति प्रक्रियापछि सबैले भुल्दै गरेको दुम्लावासीहरुलाई आजै जस्तो लाग्छ, जनयुद्दमा नेताहरुलार्इ ढिडो खुवाएर गुन्द्रीमा सुताएको । आफ्नो खुट्टाको चप्पल झिकेर जनमुक्ति सेनाहरुको खुट्टामा लगाइदिएको अनि आफुले छातिमा गोली थापेर भए पनि नेताका परिवारहरुलाई बचाएको ।
दुम्लाका स्थानीय चन्द्रबहादुर बुढाथोकी सम्झनुहुन्छ, विप्लव जीको परिवार जनयुद्दको समयमा लामो समय हाम्रै गाउँमा रहनु भयो । उहाँको जीवन संगिनीले छोरी सञ्जु र छोराहरु क्रमशः प्रकाश र नरेन्द्रलाई यो गाउँमा निकै दुःखको साथ हुर्काउनु भएको थियो। छोराछोरीहरु गाउँकै स्थानीय सरकारी स्कुलमा पढ्थे । म्याडमले भने घरको गुजरा चलाउन निकै मेहनत गर्नु भयो । उहाँले बाझो रहेको बारी खनेर तरकारी लगाउनु भएको थियो । दुर्इचारवटा कुखुरा पाल्नु भएको थियो भने साँझ बिहान पसिना बगाएर जसोतसो छोराछोरीहरु पढाउने र बिहान बेलुकी छाक टार्ने काम गर्नु हुन्थ्यो । त्यो परिवारको सदस्यहरुले कहिल्यै राम्रो कपडा लगाएको र मीठो मसिनो खाएको देख्न पाइएन । निकै दुःख पाउनु भएको थियो, उहाँहरुले ।
त्यसैगरी स्थानीय नन्दकलीले सम्झनुहुन्छ, विप्लव जी कहिलेकाही मात्रै आउनु हुन्थ्यो । गाउँमा, आउँदा जहिले पनि हामी गाउँलेहरुलाई सम्झाएर जानु हुन्थ्यो । हामी मुक्तिको लडाइँमा छौं, नआत्तिनुस् जित हाम्रै हो । यो देशको सुन्दर भविष्यको निम्ति हजारौंले रगत बगाइसक्नु भएको छ । हामी ती शहीदहरुको रगतको मूल्य खेर जाने दिने छैनौं । एक थोपा रगत रहुन्जेल क्रान्तिमा रहनेछौं, यस्तै–यस्तै भनेर सम्झाउनु हुन्थ्यो, उहाँले । खै कहाँ हुनुहुन्छ होला उहाँ अहिले ? उहाँको श्रीमतिले जहिले पनि गाउँलेहरुको मेलापातमा निकै सघाउनु हुन्थ्यो । अब त छोराछोरीहरु पनि जवान भैसक्नु भयोहोला । गएपछि कहिल्यै फर्केर आउनु भएन, उहाँहरु । सायद माया मार्नु भयो कि हामीलाई ?
दुम्लाकै एकजना बुढाबा हस्तरामले त झन् विप्लवको कुरा गर्ने बित्तिकै आँसु नै चुहाउँदै निकै भावुक बन्नु भयो, एकक्षण ।हस्तराम भन्नुहुन्छ –‘उहाँको छोराछोरीहरुलाई यिनै हातहरुले खेलाएको हुँ, मैले । निकै दुःख गर्नुहुन्थ्यो बैनीले (विप्लवको श्रीमति) । उहाँको परिश्रमबाट हाम्रा गाउँलेहरुले निकै पाठ सिके, ऊबेला । दुम्लाबाट तिला बजारसम्म तरकारी बेच्न लानु हुन्थ्यो, छोराछोरीहरु पनि निकै मेहनति थिए। तर अप्ठेरो थियो, त्यतिखेर । कतिखेर कहाँ के हुने हो कसैलाई थाहा थिएन ।एकदिनको कुरो हो, बिहानै शाहीसेनाको ठूलो फौजले यो गाउँलाई घेर्दै ल्यायो । त्यस्तै बेलुकी चार बजेतिर होला । सेना गाउँमा पसेको खबर पाउने बित्तिकै बैनी (विप्लवको श्रीमति) हत्तपत्त छिमेकिको घरमा जानुभयो अनि त्यही घरको सदस्य जस्तै बनेर काम गरेको जस्तै गर्नुभयो । गाउँ पुरै त्रासमा थियो । सर्वसाधारण गाउँलेहरुलाई माओवादीहरु कहाँ छन् ? भन्दै पिट्दै थियो, सेनाहरुले । त्यतिबेला झन् ठिक्क छोरी सञ्जु स्कुलबाट घरमा आइपुगिन् । परिस्थिति अप्ठेरो भयो अब । छिमेकिको घरबाट बैनीले चिच्याउँदै कराइन्, –‘नानी एता आइज किन त्यहाँ अरुको घरमा बसेको ?’ नभन्दै छोरी पनि संयोगले खुरुखुरु छिमेकिको घरमा आइपुगिन्, सेनाहरुले त्यति केरकार गरेनन्।त्यो दिन राति बाह्र बजेसम्म सेनाहरु गाउँमै रहे । विचरा त्यो परिवार छिमेकिकोमा बसिरह्यो । घरमा पालेको कुखराहरु बाहिर रुखमा बसेका थिए, अर्को दिन हामीले हेर्दा ।’ लामो सास फेर्दै हस्तराम अगाडि भन्नुहुन्छ, –‘यसरी कयौंं पटक बच्यो त्यो परिवार, यो गाउँमा । उहाँहरु जाँदा फेरि फर्केर आउँछौं भन्नु भएको थियो तर खै किन फर्किनु भएन ? उमेरले बुढो भैसकें म त । मर्नु अघि एकपटक उहाँको परिवारलाई भेट्न मन छ ।’
विप्लवका सहयोद्धाहरु मध्ये किमबहादुर थापा (सुनिल) जनयुद्दमै शहीद भैसके भने आज नन्दकिशोर पुन (पासाङ) उपराष्ट्रपति छन् । वर्षमान पुन (अनन्त) मन्त्री छन्, लोकेन्द्र विष्ट मगर (अभ्यास) राजनीति त्यागेर कृषि पेशामा संलग्न छन् भने अर्का नेता हेमन्तप्रकाश वली (सुदर्शन) लामो जेलजिबन बिताई अहिले खुल्ला राजनितिमा होमिएका छन् । तर विप्लव भने अझै पनि प्राय: भूमिगत जस्तै छन् । शान्ति प्रक्रिया पश्चात माओवादी पाटीमा निकै भयानक आरोह अवरोह पैदा भयो । जनयुद्दको नेतृत्व गेरका प्रचण्डले तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गरी नेकपा बनाएका छन् । अर्का नेता बाबुराम भट्टराई नयाँ शक्ति पार्टी हुँदै अहिले मधेशवादी दलमा आबद्द छन् त अर्का नेता मोहन वैद्य (किरण)ले क्रान्तिकारी माओवादी पार्टी गठन गरेका छन् । विप्लवले नेपाल कम्युनिष्ट पार्टी बनाएका छन् । जुन पार्टिलाई केपी वली नेतृत्वको तत्कालीन सरकारले लामो समय प्रतिबन्ध गरि हाल तिनबुदे सहमति मार्फत खुल्ला राजनीतिक यात्रामा प्रवेश गरेको छ।
रोल्पाका यी बस्तीहरुले निकै माओवादी नेताहरु जन्मायो, हुर्कायो अनि मुलुककै नेतृत्व तहसम्म पुर्यायो, ठूलो बलिदानको साथमा । ती नेताहरु आज रोल्पाका यी बस्तीहरुलाई सम्झन्छन् सम्झदैनन् थाहा भएन तर यी लाल बस्तीहरुले भने कहिल्यै बिर्सेन ती नेताहरुलाई । सधैं सम्झिरह्यो सबैलाई, कहिल्यै आशा मारेनन् ती नेताहरुबाट । आज पनि यी बस्तीहरुको एकमुष्ट आवज छ, ती हिजोका हाम्रा माओवादीका नेताहरु एकसाथ फर्केर हामीलाई भेट्न कहिले आउँछन् होला ?