ताजा अपडेट

कसरी चपाउलान् सभामुखले ‘फलामको चिउरा’ !

सभामुख अग्निप्रसाद सापकोटालाई यतिबेला प्रतिनिधि सभाको कामकारबाही अघि बढाउन फलामका चिउरा चपाउनु सरह भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्को यो अधिवेशन सुरुपछि बसेको तेस्रो दिनको बैठकमा पनि सदन अवरुद्ध गरेको छ ।

गत भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको यो अधिवेशनमा भदौ २५ गते र २७ गते बसेको बैठकमा एमालेले अवरोध ग–यो । सभामुखले एकै दिन १५ मिनेटका लागि भन्दै ३ पटक सम्म बोलाएको बैठकमा एमालेले नाराबाजी गर्दै अवरुद्ध गरेको छ भने बैठकको बिचमा एमाले संसदीय दलका प्रमुख सचेतक, सचेतक र सांसदहरूसँगको छलफल पनि फलदायी हुन सकेको छैन ।

आफ्नो दलले कारबाही गरेका १४ सांसद प्रतिनिधि सभा बैठकमा सहभागी भएसम्म सदन अगाडि बढ्न नदिने एमालेको बटमलाइन छ । एमालेले पार्टी विभाजन गर्न सभामुखले भूमिका खेलेको मात्र नभई संवैधानिक मर्यादा उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

​आइतबार दिउसो १ बजेको बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा एमालेले अवरोध गरेपछि १५ मिनेट बैठक स्थगित गरेर सभामुख सापकोटाले कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित एमालेका प्रमुख सचेतक, सचेतक र सांसदसँग छलफल गरेका थिए । तर एमाले आफ्नो अडानबाट पछि हटेन ।

सभामुखले आजै बोलाएको दोस्रो बैठकमा पनि एमालेले अवरोध गरेपछि उनले २९ गतेका लागि अर्को बैठक बोलाएका छन् । साथै समस्या समाधानका लागि सोमबार दिउँसो साढे २ बजे सर्वदलीय बैठक समेत बोलाएका छन् । उक्त सर्वदलीय बैठकबाट सहजै समाधान निस्किने वा एमाले पछाडि हटाउने सभामुखले कस्तो सूत्र प्रयोग गर्छन्, जुन अनिश्चित छ । एमाले अझै पनि सभामुखले कारबाही गरेको सूचनाको पत्र सभामुखले टाँस्नुपर्ने जिकिर गर्न थालेको छ, जुन सम्भव नै नभएको सोही दलबाट टुक्रिएको नेकपा एकीकृत समाजवादीको धारणा छ ।

प्रतिक्रिया दिनुहोस