लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले ‘अपरेशन कोक–२’ चलाएर झण्डै तीन किलो कोकिनसहित ३ विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अफ्रिकी नागरिक ३० वर्षीय स्रिले गेमा र भारतीय नागरिक विजय सिंह र तान्जेनियन नागरिक गेट्यूड लिनर्ड किमारो छन् ।
पक्राउ परेकामध्ये गामाले महँगो लागूऔषध कोकिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ३ भदौमा नेपाल प्रवेश गराएको पाइएको छ । हालै कतारबाट काठमाडौंसम्म कोकिन आइपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँचमाथि प्रश्न उठेको छ ।
ब्युरोका एसपी जीवन श्रेष्ठका अनुसार विमानस्थलबाट कोकिन कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीका अनुसार हाल अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषधको जाँच नै हुँदैन ।
‘एक्सरेबाट हुने जाँचमा लागूऔषध र खानेकुरा उस्तै देखिन्छ’ उनले भने, ‘एउटै देखिने भएपछि लागूऔषध पत्ता लगाउन गाह्रो छ ।’