होलेरी- होलेरी-स्वर्गद्वारी सडकखण्ड स्तरोन्नति गर्ने कार्यमा चरम लापरबाही भएको पाइएको छ ।
नाला निर्माण कार्यमा कंक्रिट लगायत खोलाको कच्चापदार्थ प्रयोग गरिनुपर्ने ठाउँमा ढुंगा माटो सहितको कच्चापदार्थ प्रयोग गरिएको भन्ने स्थानीयहरुको गुनासोको आधार बुधबार उक्त सडक खण्डमा टिम होलेरी खबर पुग्दा जस्पुरस्थित निर्माण कार्य भैरहेको थियो ।निर्माण गरिएको नाला एक महिना नबित्दै उप्कन थालेको छ भने चर्किन समेत शुरु गरेको छ । ठाउँ-ठाउँमा सिमेन्ट,गिट्टी र बालुवाको साटो ढुंगा मात्रै देखिएको छ । संघीय सरकारको १ करोड १६ लखमा स्तरोन्नति कार्य भैरहेको उक्त सडक खण्डमा आम सर्वसाधारणले प्रश्न उठाउन थालेका छन् ।
होलेरी स्वर्गद्वारी सडक स्तरोन्नतिको मापदण्ड पुर्याउनु पर्ने भन्दै केहि समय अगाडि स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाले सडक किनार निर्मित टहरामाथि डोजर चलाएको थियो । तर निर्माण कार्य मापदण्ड अनुसार भएको छ/छैन ? भन्ने बिषयमा भने स्थानीय सरकारको समेत ध्यान पुग्न सकिरहेको छैन ।
निर्माण कार्यको जिम्मा लिएका शिव श्रेष्ठले भने आफूहरूले मापदण्ड अनुसार स्तरोन्नतिको कार्य गरिरहेको दाबी गरे । उनले निर्मित मेसिनरी वाल र नाला २०/२५ बर्ष टिक्ने र कालोपत्रे सडकको १ बर्ष वारेन्टी हुने बताएका छन् । यद्यपि २०/२५ बर्ष टिकाउ हुने दाबी गरिएको मेसिनरी वाल र नाला भने एक महिना भित्रै जिर्ण बन्न थालेको छ । यस सडक खण्ड बिगतमा पनि कालोपत्रे गरिएको थियो । तर सडक बर्ष दिन नबित्दै उप्कन थालेपछि यात्रुहरुलाई सास्ती बढेको थियो ।जसका कारण नागरिकस्तरमा निराशा बढ्न थालेको छ ।
भिडियो