काठमाडौं- नेपालमा अहिले मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू–भागमा तथा आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेका कारण आज देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ । केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोसी, मधेस, वाग्मती गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षाका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयबाट क्षति हुनसक्ने मशाखाले बताएको छ ।आज जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधा हुनसक्ने जनाएको छ ।