ताजा अपडेट

श्रीस्वर्गद्वारी आश्रमको संक्षिप्त चिनारी

होलेरी- श्रीस्वर्गद्वारी आश्रम नेपालका संन्यास आश्रमहरू मध्ये लामो परम्परा बोकेको आश्रम हो। जगतुकल्याणको भावलाई सवासय वर्षभन्दा लामो समयदेखि आत्मसात गरेको यो आश्रमले आध्यात्मिक, धार्मिक र शैक्षिक क्षेत्रमा एउटा गौरवशाली इतिहाँस बनाउँन सफल भएको छ। गिरिनामा संन्यासीहरूको परम्परामा संरक्षित एवं सञ्चालित यस आश्श्रमको संक्षिप्त चिनारी यस प्रकार छ ।

भौगोलिक स्थिति

श्रीस्वर्गद्वारी आश्रम नेपालको प्यूठान जिल्ला, स्वर्गद्वारी नगरपालिका, वडा नं. २ मा अवस्थित महाभारत पर्वत शृंखलाको एक रमणीय भूभागमा पर्दछ। आध्यात्मिक, धार्मिक एवं ऐतिहासिक महत्व बोकेको यो तीर्थस्थल समुद्री सतह देखि २२०० मिटर उचाईमा रहेको छ मने २६००० रोपनी अर्थात् २३.८ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यहाँ लेकाली, समशीतोष्ण र अर्धउष्ण हावापानी पाइन्छ । पौष माघ महिनामा हिउँ पर्दछ । स्वर्गद्वारी शिखर यस क्षेत्रको उच्च स्थानमा रहेकोले बाहै महिना नीकै हावा चल्दछ । यस क्षेत्रमा लेकाली वृक्ष-वनस्पति बाँझ, लालीगुराँस, काफल, टिमुर आदि पाइन्छन् । यो स्थल चारैतिर घना जङ्गलले घेरिएको उच्च टाकुरोमा रहेको छ। यहाँबाट उत्तरमा सिस्ने, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे जस्ता हिमाशृंखलाहरु अवलोकन गर्न सकिन्छ ।

ऐतिहासिक पृष्ठभूमि

प्राकृतिक रमणीयताले भरिएको पावन स्वर्गद्वारी शिखरमा वि.सं. १९५२ सालमा अनन्त श्री विभूषित स्वर्गद्वारी महाप्रभुले विश्वकल्याण गर्ने महान् उद्देश्यले वैदिक अखण्ड महायज्ञको स्थापना एवं सञ्चालन गर्नुभयो । श्री स्वर्गद्वारी महाप्रभुका अनुसार स्वर्गद्वारी पौराणिक कालमा पनि यज्ञभूमि नै थियो। वेदव्यास जस्ता त्रिकालदर्शी महर्षिहरूले यही ठाउँमा ठूला ठूला यज्ञ गरेका थिए। यो भूमि विभिन्न देवी देवताहरुको निवासस्थल, महायोगीहरुको तपस्थल, जीवनमुक्त अवधूतहरुको विचरणस्थल, महाभारतका प्रसिद्ध पाँच पाण्डवहरुको तपस्थल, यज्ञस्थल र स्वर्गप्रस्थान (उत्तरापन्थ गमन) को प्रारम्भ विन्दु हो। समय-समयमा सप्त ऋषि, अष्ट चिरञ्जीवि जस्ता ऋषि-महर्षिहरु समेत आई ज्ञानयज्ञ, जपयज्ञ, तपयज्ञ गर्दथे। उपासकहरुलाई ऐहिक र आमुष्मिक इच्छा पूरा गरिदिने हुनाले यस पवित्र स्थानलाई स्वर्गद्वारी मनियो । श्री स्वर्गद्वारी महाप्रभुको समयमा पनि विभिन्न सिद्ध, ज्ञानी, तपस्वीहरु जम्मा भई ज्ञानयज्ञ, जपयज्ञ, साधना, उपासना जस्ता आत्मचिन्तनका विचारधारा निरन्तर चलीरहन्थे। अहिले पनि यो प्रक्रिया अविच्छिन्न चलीरहेको छ । अतः स्वर्गद्वारी बाह्य रुपमा सामान्य भए पनि आध्यात्मिक एवं धार्मिक दृष्टिमा अहिले पनि सार्थक र सजीव छ ।

श्रीस्वर्गद्वारी महाप्रभु

स्वर्गद्वारी आश्रमका संस्थापक श्रीमहाप्रभु हालको रोल्पा जिल्लाको रुम्टी गाउँमा वि.सं. १९१६ श्रावण शुक्ल एकादशीका दिन जन्मनु भएको हो। उहाँका मातापिता श्वेताकुमारी र अनिरुद्ध गौतम हुनुहुन्थ्यो भने नक्षत्र अनुसारको नाम नारायण थियो । उहाँ जन्मिनु भएको राति पानीको साथमा त्यहाँ पुष्पवृष्टि पनि भएको र बिहानै मिक्षाको निहुँ पारी अनेक सिद्धले सयोजात शिशु (पछि महाप्रमु) को दर्शन गरेका थिए भन्ने भनाई पनि छ। ४ वर्षको उमेरदेखि नै एकान्त ठाउँमा एक्लै बसी माटाढुंगाका देवप्रतिमा बनाई पूजामा व्यस्त रहनुहुन्थ्यो र ५ वर्षको उमेरदेखि नै तपस्वी हुनु भएकोले उहाँलाई बालतपस्वी भनियो ।

१३ वर्षको उमेरदेखि २५ वर्षको उमेरसम्म जनसम्पर्कबाट अलग भई उहाँले पूरा १२ वर्ष तपस्या गर्नुभयो र विद्वान्, तत्त्वदर्शी, आत्मवेत्ता, सिद्धसन्त स्वामी सच्चिदानन्द गिरिबाट हंसानन्दगिरि योगपट सहित संन्यास दीक्षा लिनुभयो।केही समय गुरुसेवा, ज्ञानयोग, कर्मयोग र अष्टाङ्ग योगमा समय बिताउँदै जन्मस्थानमा विभिन्न यज्ञहरू गरी विश्वकल्याणार्थ अखण्ड महायज्ञ गर्ने पावन उद्देश्यले महाप्रभु. वि.सं. १९५१ मा पवित्र भूमि स्वर्गद्वारीको शैलशिखरमा पदार्पण गर्नुभयो र यस दिव्यभूमिलाई यज्ञभूमिको रूपमा पुनः प्रतिष्ठित गर्नुभयो। वैदिक सनातन धर्मको आधार स्तम्म स्वर्गद्वारी आश्रमका संस्थापक यज्ञावतार, त्रिकालदर्शी श्रीस्वर्गद्वारी महाप्रभु वि.सं. १९९७ को मार्ग शुक्ल पक्षको चौथी तिथिमा पाञ्चभौतिक शरीर त्यागी ब्रह्मलीन हुनुभयो ।

यज्ञशाला

वि.सं. १९५२ वैशाख पूर्णिमाबाट सञ्चालन भएको अखण्ड महायज्ञ वैदिक सनातन धर्मको मुख्य धरोहर हो। यस यज्ञमा २४ जना विप्रवदुहरूले नित्य पूजा, अभिषेक, हवनादि कार्य गर्दछन् । प्रत्येक वैशाख पूर्णिमा र कार्तिक पूर्णिमाका दिन विप्रवटुहरू फेरबदल हुन्छन् । आश्रमको गुरुकुलमा अध्ययन गरेका वटुकहरू यस यज्ञमा वरण गरिन्छन् ।

अखण्ड महायज्ञ प्रारम्भ गर्दा आफ्ना सद्गुरुदेव भगवान् श्री सच्चिदानन्द गिरि, गुरुमाई अनन्तानन्द गिरि, शिष्य बोधानन्द गिरि समेत साथै हुनुहुन्थ्यो भने कर्मनिष्ठ ब्राह्मणद्वारा वेदमन्त्रको माध्यमले यज्ञशालामा अग्निप्रज्वलन गराई हवन गरिएको थियो र आज पनि उही अग्निमा निरन्तर हवन भैरहेको छ। महाप्रभुले यज्ञको आरम्भमा यज्ञपुरुष परमात्मा, दशदिक्पाल, नवग्रह, अष्टवसु, एकादशरुद्र, आदिशक्ति जगज्जननी भगवती आदि विभिन्न देवीदेवताहरुलाई आवाहन गरी आफूले यज्ञको साङ्गता नगर्ने संकल्पका साथ यो अखण्ड महायज्ञको श्रीगणेश गर्नु भएको हो। वेद, स्मृति, पुराणाविका आधारमा यज्ञमा वरण भएका पण्डित, होता गणेश र वैदिक वटुकहरुद्वारा विभिन्न देवताहरुको दैनिक पूजा आराधना हुँदै आएको छ । प्रतिदिन विहान ब्रहममुहूर्तबाट सुरु भएको पूजा, आराधना, रुद्राभिषेक, हवन आदि कर्महरु दिनको २:०० बजे समाप्त हुन्छन् भने बेलुका ५:०० बजेबाट प्रारम्म भएको सायंकालीन पूजा-आराधना, हवन, आरती, भजन लगायतका नित्यकर्महरु राति ११:०० बजेसमाप्त हुन्छन् । महायज्ञमा ९ ओटा मन्दिर, मूल कुण्ड सहित ५ ओटा अग्निकुण्ड, पञ्च पञ्चायतन देवताका मन्दिर, शिवालय अवस्थित छन् ।

वर्तमान अवस्था

वैदिक सनातन धर्मको सम्बर्धनद्वारा विश्वकल्याण गर्नु मुख्य उद्देश्य रहेको श्रीस्वर्गद्वारी आश्रमले आध्यात्मिक र भौतिक वातावरणलाई समायोजन गर्दै जनमानसमा शान्ति र सद्भावको शिक्षा दिइरहेको छ । लोपोन्मुख यज्ञीय परम्परालाई पुनः प्रतिष्ठित एवं वैदिक सनातनधर्मको मर्यादालाई कायम राख्दै यस यज्ञभूमिमा गुरुकुल प्रणालीमा आधारित वैदिक पाठशाला, गाईहरूको संरक्षणका लागि गौशाला, यात्रुहरूका लागि धर्मशाला, साधु, सन्त, तपस्वीहरूका लागि सन्तनिवास, पूजा एवं आराधनाका लागि शिवालय तथा यज्ञ सञ्चालनका लागि यज्ञशाला संस्थापित एवं सञ्चालित छन् । यज्ञका माध्यमबाट योगसाधना, वैदिक वाङ्‌मयको अध्ययन अध्यापन, यज्ञानुष्ठान आदि कार्यहरुले सनातनधर्म, संस्कृति र संस्कृत वाङ्‌मयको संरक्षण, सम्बर्द्धन तथा प्रचार-प्रसारका कार्यहरु भैरहेका छन् । वि.सं. १९५२ सालबाट नै सञ्चालित यस गुरुकुलमा नेपालको विभिन्न स्थानहरुबाट संस्कृत वाङ्मयको अध्ययन गर्ने उत्कट अभिलाषा लिएर आएका सयभन्दा बढी विद्यार्थीहरुले आवासीय सुविधा सहित वैदिक वाङ्मयको अध्ययन गरीरहेका छन् ।

स्वर्गद्वारी आश्रम पहाडको एक विकट स्थानमा रहेको भए पनि पवित्र धार्मिक गन्तव्य स्थलको रूपमा चर्चित भएको कुरा सर्वविदितै छ । धार्मिक आकर्षणले गर्दा यो विकटता पनि श्रद्धालुहरुका लागि सहज बनेको छ । नेपालका विभिन्न ठाउँका साथै विशेषतः भारतको उत्तर प्रदेशका सीमावर्ती क्षेत्रहरूबाट तीर्थयात्रीहरूको ठूलो संख्या यस आश्रममा आउँछ । स्वर्गद्वारी आश्रमले आफ्ना विविध प्राकृतिक तथा धार्मिक क्रियाकलापहरूद्वारा यस शैलशिखरमा पुग्ने जो कोहीलाई पनि प्रभावित बनाएर फर्काउन सफल भएको छ ।

श्रीस्वर्गद्वारी आश्रमको गौशालामा स्थापना कालमा १२०० भन्दा बढी गाईहरू भएको अभिलेख पाइए तापनि आश्रमले वर्तमान अवस्थामा ५०० भन्दा बढी स्थानीय गाईहरूको निरन्तर सेवा तथा संरक्षण गर्दै आइरहेको छ । आश्रमको दाङ् तथा देउखुरीमा रहेका अन्य शाखाहरूमा पनि करिब ३०० भन्दा बढी स्थानीय गाईहरूको निरन्तर सेवा भइरहेको छ । स्वर्गद्वारीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका आध्यात्मिक जिज्ञासुहरूको मात्र नभई स्वर्गद्वारीको आध्यात्मिक ऊर्जालाई बुझेका भारतका कतिपय योगी, महात्मा, साधक एवं जिज्ञासुहरू हिमालययात्राको क्रममा शिक्षादीक्षा एवं तपस्याका लागि जमघट हुने गर्दछन् र केही आध्यात्मिक उपलब्धि लिएर फर्कन्छन् । यहाँको धार्मिक क्रियाकलाप र साधनाको प्रशिक्षणले तत्तत् क्षेत्रका आध्यात्मिक जिज्ञासुहरूमा ठूलो प्रभाव परेको छ ।

महाप्रभु आफैले स्थापना गर्नुभएको अखण्ड महायज्ञ, पाठशाला, गौशाला, पाकशाला, धर्मशाला जस्ता अङ्गहरु कालान्तरसम्म निरन्तर सञ्चालन भैरहुन् र सनातन धर्मको ध्वजा उच्च बनीरहोस् भन्ने उद्देश्यले वि.सं. १९८० को दशकमा दाङ् जिल्लाको विभिन्न स्थानमा करिब १२०० विगाह खेतीयोग्य जमिन आफ्नै झोलीको पैसाबाट खरिद गर्नुभएको थियो । आश्रमको नाममा रहेको सो जग्गाको आम्दानीबाट श्री स्वर्गद्वारीका विभिन्न गतिविधिहरु सञ्चालित थिए तर कालक्रममा देशको राजनीतिक उतार-चढावले लोभानी पापानी बढ्‌दै जाँदा पूरा आयस्ता आश्रमले प्राप्त गर्न सकेको छैन । श्री स्वर्गद्वारीमा दर्शनार्थ आएका भक्तजनहरुबाट चढाइएका दान दातव्यबाट आश्रमका गतिविधि सञ्चालन भैरहेका छन् । आश्रममा हाल वैतनिक रूपमा ३०० भन्दा बढी सेवकहरु सेवारत छन् । यो आश्रम नितान्त नीजि गुठी भएकोले महाप्रभुको सदिच्छा र मार्गदर्शन अनुसार संन्यासी शिष्यपरम्परामा दीक्षित पीठाधीश (आश्रम प्रमुख) स्वामीज्यूको अध्यक्षतामा गठित समितिद्वारा संरक्षित एवं सञ्चालित छ ।

श्री स्वर्गद्वारी महाप्रभुबाट सञ्चालित यो आश्रस विश्वकल्याणको विशिष्ट उद्देश्यलाई मूल मार्ग मान्दै वैदिक सनातनधर्म संस्कृतिको संरक्षण तथा संबर्द्धनमा दत्तचित्त भएर अगाडी बढेको विश्वका सम्पूर्ण सनातनीहरुको आस्था र श्रद्धाको धरोहर हो।

सफल शर्माबाट साभार

प्रतिक्रिया दिनुहोस