नेर्पा- रोल्पाको त्रिबेणी गाउँपालिकाको कृषि अनुदान कार्यक्रम मार्फत खरिद गरेर किसानहरुलाई बितरण गरिएको आलुको बिउँ गुणस्तरहिन र कुहिएको पाइएको छ।
त्रिबेणीमा अनुदानको नाममा बजार मुल्य भन्दा बढी मुल्य कुहिएको आलु बितरण गरेको गत सोमबार ८ गते स्थानिय किसानहरुले गुनासो गरेका थिए।सो क्रममा स्थानियहरुले उक्त आलुको बिउँ कुहिएको पाएपछि खाडल खनेर गाडेका थिए।स्थानियहरुले पठाएको फोटो फोटो र भिडियो सामाग्रीका आधारमा होलेरी खबरले उनीहरुसंग फोन मार्फत थप संवाद गरेर पालिकाको अनुदान आलु कुहिएको र बजार मुल्य भन्दा बढी मुल्यमा किसानहरुलाई बितरण गरिएको भनेर समाचार समेत प्रकाशन गरेको थियो।
सोहि समाचारका बिषयलाई लिएर स्थानिय सरकार त्रिबेणी गाउँपालिकाले तथ्यहिन बिषयमा समाचार लेखेको भन्दै आपत्ति जनाएको थियो।यसै बिषयमा थप अनुसन्धान गर्न बुधबार टिम होलेरी खबर गुनासो गर्ने किसानहरुको निवास त्रिबेणी गाउँपालिका वडा नं ७ गैरिगाउँ मैतेकातिना गाउँमा पुगेर सम्बन्धित किसानहरुसंग कुराकानी गर्दा किसानहरुले सो कुरा सत्य भएको पुनः दोहोर्याए।त्यतिमात्र नभएर प्रमाण पेश गर्न स्थानियले गाडेको आलु खन्ने निधो गरे।
स्थानियहरुले गाडेको आलु खनेर देखाउने प्रक्रिया शुरु गरे।केहिबेरमै उनीहरुले गाडेको आलु देखिन थाल्यो।त्यसपछि एक-एक गरेर आलु क्यामेरामा देखाउन थाले।खाडलबाट निकालिएको अधिकांश आलु कुहिएको नै पाइयो।बजारमा बिउँ आलु ५० किलोको बोरालाई १२ सय सम्म पाइने भएपनि स्थानिय सरकारको अनुदान कार्यक्रम मार्फत किसानले प्राप्त गरेको आलुको मूल्य भने ५० प्रतिशत अनुदानमा पनि ५० किलोको प्रति बोरालाई १६ सय पचास रुपैयाँ मूल्य तिरेको किसानहरुले बताए।`एक त आलु कुहिएको छ हामिले बजारमा २८ सय रुपैयाँ प्रति कुइन्टल राम्रो बिउँ आलु खरिद गरेर ल्याएका छौँ।तर स्थानिय सरकारले ५० प्रतिशत अनुदानमा खरिद गरेर दिएको आलुको भाउ/दर ६ हजार पाच सय प्रति कुइन्टल छ।यत्रो मुल्यान्तरमा आलु पुरै कुहिएको छ´- स्थानीय मन्जित केसीले ले गुनासो पोखे।
यसैबीच सोही स्थानमा उपस्थित भएका पुर्व त्रिबेणी गाउँपालिका वडा ..का वडा सदस्य प्रेमबहादुर बुढा मगर(एटम)ले पनि आलु बितरणमा बदनियत रहेको हुनसक्ने बताए।उनले बिउँ आलु प्रचलित बजार मुल्य भन्दा बढिमा किसानलाई अनुदानमा कुहिएको आलु दिएर स्थानिय सरकारले गैरजिम्मेवारी काम गरेको बताए।
त्रिबेणी गाउँपालिकाले भने कुहिएको आलुको बिउँ अनुदानमा दिइएको भन्ने आरोपको ठाडो इन्कार गरेको छ।पालिकाको तर्फबाट बोल्दै पालिका उपाध्यक्ष लेखमणी डाँगीले वडा नं ७ मा किसानहरुले बिउँ आलु पाएपछि लामो समयसम्म बोरीमै राखेर कुहिएको हुनसक्ने भन्दै आरोपको खण्डन गरेका छन्।उपाध्यक्ष डागीले ५०% अनुदानमा बितरण गरिएको उक्त बिउँ आलु कोटेसन मार्फत दीपक एग्रोभेट र भण्डारी कृषि फर्मबाट खरिद गरिएकाले उनिहरुलेनै किसानका घरमा आलु पुर्याइदिएको र गुणस्तरहिन बिउँ फेला परेको ठाउँका किसानको पैसो पनि फिर्ता दिइएको बताए।
पालिकाका विभिन्न वडामा एकैपटक आलु पुर्याइदा वडा नं ७ को मैतेकाटिनाका केहि घरमा मात्रै कुहिएको आलु पर्नु स्थानिय सरकारको चरीत्र हत्या गर्न कसैले कुनै षड्यन्त्र गरिएको हुन सक्ने आशंका ब्यक्त गरे।ति आलु बितरक संस्थाहरुलाई पालिकाले भुक्तानी दिन बाँकी नै रहेकाले यस बिषयमा आवश्यक छानबिन गर्ने उनको भनाई रहेको छ।
`हामिले किसानले कुहिएको बिउँ आलु पाउँदा पनि भुक्तानी दिएको भए हाम्रो दोष हुने हो।हामिले भुक्तानी दिएकै छैनौँ।कर्मचारी र हामी जनप्रतिनिधिले खरिद गरेर लिएका छैनौँ हामिलाई दोष दिन मिल्दैन´-उपाध्यक्ष डाँगीए भने।
बजारको बिउँ आलु भन्दा अनुदानको आलुको भाउ/दर फरक पर्नुमा आलुको बिउँको प्रकार अनुसार तलमाथि हुनसक्ने उनले स्पष्टरोक्ती दिए।पालिकाको अनुदान कार्यक्रम अन्तर्गत भएपनी उक्त बिउँ आलु खरिद र बितरण प्रक्रियामा पालिकाको कुनैपनि भुमिका नरहेकाले यस बिषयमा जनप्रतिनिधिहरु र पालिकाको चरित्र हत्या नगर्न चेतावनी दिएका छन्।
भिडियो