ताजा अपडेट

राज्यले बिर्सेको “घोरनेटी” अस्पताल 

रोल्पा- रोल्पाको माडी गाउपालिका साविक ओतमा पर्ने घोरनेटी जनयुद्ध कालका प्रख्यात ठाउहरु मध्येको एक चर्चित ठाउँ हो। यस ठाउँमा ने क पा माओवादीले देशकै ठुलो जन नामुना अस्पताल घोषणा गरेर बालकदेखि वृद्धासम्मलाई कठिन श्रमदान गराएको थियो। म सात कक्षामा पढ्दा १४ दिन श्रमदान गरेको स्मरण ताजै छ। मजस्ता धेरै विद्यार्थी तथा वृद्धवृद्धाले श्रमदान गरेका थिए। विभिन्न जन कारबाहीमा परेका जस्तै, मदिरा सेवन, बहुविवाह, बालविवाह, चोरी, हत्या, जनयुद्धमा सहयोग नगरेका जस्ता मानिसहरूले महिनौँ महिना श्रमदान गरेका थिए। रोल्पा लगायत छिमेकी जिल्लाहरू दाङ, सल्यान, रुकुम, बालुङ आदी जिल्लाबाट श्रमदान गर्न आएका थिए।
पहाडी विकट भुभागमा सुविधा सम्पन्न भवनहरु र वरपरको पुर्वाधार संरचना राम्रो बनाईयो। जनयुद्ध कालमा ठुलाठुला लडाइँमा घाइते रातारात जंगली बाटो बाट जनतालाई बोकाएर उपचार गराईन्थ्यो। 

उक्त अस्पतालमा स्वदेशी तथा विदेशी डाक्टरको पनि व्यवस्था गरिएको थियो। जापानी, अमेरिकी, कोरियन जस्ता विदेशी डाक्टर मानविय सेवामा निस्शुल्क अहोरात्र खटिरहन्थे । झुल्नेटाको लडाइँमा घाइते भएका मानिसहरू रातारात घोरनेटी पुर्याईएको थियो। त्यतिबेला जापानी डाक्टर लगायत स्वदेशी र विदेशी डाक्टर उपचारमा खटिएका थिए।

शान्ति प्रक्रिया पछि राज्यको दुरी घोरनेटी अस्पताल सँग टाढिदै गयो। त्यहाँ भएका सेवा सुविधामा क्रमशः खस्कदै गए । रोल्पालीको मुहारमा निराशा छाउदै गयो। आजकाल यि भवनहरुले राज्यलाई गिज्याईरहेछन्। धेरै दुख गरेर निशुल्क श्रमदान गरेको अस्पतालमा ठुला ठुला डाक्टर नर्सको व्यवस्था गरिने आसा बोकेका जनतामा निराशा छाउदै गयो । गाउघरमा उपचार गरौँला भन्ने विचरा सिधा सोझा जनता बाँदरलाई हेरेर जिल्ला परेको गोही जस्तै जिल्ल परेका छन्। विरामी उपचार गर्न अझै पनि दाङ,काठमाडौ पुग्नुपर्दा विगतको जनश्रमदान गराउने जनसरकार लाई धिक्कारिरहेका छन्। प्रश्न गर्छन् उत्तर भेटिदैन। नेता खोज्छन् ती जननेता भेटाउदैनन्।आफुहरुले ठूलो मेहनत गरेर बनाएको संरचना “विना मान्छेको खाली” र “वेकाम्मे” निर्दोषी आँखाहरु रसाउछन् । संरचनाहरु पनि वर्षेनि जिर्ण बन्दैछन् । सरसामान रातारात चोरी भएर हराउँदैछन्।

जनताले आफ्नो गाँस साँधेर ढिँडो र गुन्द्रुक खुवाएर पालेका बेवारिसे मानिसहरू अहिले चिल्ला गाडी र दरबार जस्ता गगनचुम्बी भवनमा विलासी जीवन विताएको सुन्दा मुटु कटक्क खाईरहेछ । हिजो, तपाईंका छोराछोरी हौँ, हामी बिर्सदैनौँ, भेट्न आईरहन्छौ भनेर गएका ती मानिसहरू फर्केर नआउदा निर्दोषी आखाले हेरिरहन्छ, निर्दाषी मन छटपटाई रहन्छ । झन् विग्रदो सामाजिक परिवेशले दिनानुदिन विगतको झझल्को दिलाईरहन्छ। अबोध जनता वर्षौँदेखि कसैलाई पर्खिरहेका छन् र पर्खिरहने छन् । 

जलजला प्रेसबाट

प्रतिक्रिया दिनुहोस