काठमाडौं-भोलि बिहिवार उपत्यकामा अत्यावश्यक काम बाहेक सवारी साधन लिएर घरबाट ननिस्कन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
बिहीवार नेकपा एमाले निकट युवा संघ र दुर्गा प्रसाईंको समुहले छुट्टाछुट्टै र्याली,जुलुस र बिरोध प्रदर्शन कार्यक्रमको आयोजना गर्ने सार्वजनिक घोषणा गरेपछि ट्राफिक ब्यबस्थापन सहजताका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो निर्देशन दिएको हो।
बिरोध प्रर्दशन गर्ने बुझिएको भन्दै काठमाडौँ उपत्यका भरी सवारी आवागमनमा समस्या हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको हो ।
कार्यालयले एक सूचना जारी गर्दै सडकमा निस्कनु पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ ।
भोलि व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियान र एमाले निकटको युवा संघले काठमाडौंका दुई स्थान बल्खु र तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन् । त्यसका लागि विभिन्न स्थानबाट जुलुस निस्किने जनाइएको छ ।