ताजा अपडेट

बिकासका नाममा चुरे पहाड दोहन बर्तमान र भविष्यका पुस्तामाथिको खतरा (सम्पादकिय)

पछिल्लो समय उद्योग धन्दा सञ्चालनका लागि चुरे पहाडहरु दोहोन गर्ने होडबाजी चलिरहेको छ।बिकास उन्मुख,बिकाशिल वा बिकशित कुनै पनि राष्ट्रको लागि उद्योग तथा कलकारखाना सञ्चालनले त्यस मुलुकको आर्थिक सुदृढिकरणमा टेवा पुर्याउँदछ।

उद्योग कलकारखाना सञ्चालन गर्नुले स्वदेशमै रोजगारीको वातावरण सृजना हुनुका शाथै राज्यलाई पनि उल्लेखनीय रुपमा कर आउँदछ।तथापि समृद्धिका नाममा जथाभावी उत्खनन र दोहोन गर्न भने पाईदैन।बिकासको सर्त दिगो हुनै पर्दछ।बर्तमान समयमा गरिने बिकासका शृङ्खलाहरुले प्रकृति र भावि पुस्ताका बाच्न पाउने अधिकार खोसिनु हुँदैन।नेपाल ब्राजिल पछिको जलश्रोतमा बिश्वकै दोश्रो धनि मुलुक हो।

नेपालको भु-बनावट तथा प्राकृतिक वरदान हरियालीका कारण जलश्रोतमा अगाडि छ।सर्वोच्च हिम शृङ्खलाहरु,चुरे पर्वतहरुले यहाँको वातावरण सुन्दर तथा अत्यन्तै स्वच्छ छ।बिडम्बना पछिल्लो समय यिनै चुरे पहाडहरु दोहोन गरेर चुन ढुङ्गा उत्खनन गर्ने कार्यमा उद्योगपतिहरुको होडबाजी चलेको छ।पहाडी जिल्लाहरुका अधिकांश चुरे पहाडहरु उद्योगपतिहरुले दर्ता गरिसकेका छन्।यि मध्ये कति उत्खननकै क्रममा छन्।विनास विनाको विकास नै दिगो विकास हो ।´वर्तमानको आवश्यकता सम्झौता नगरिकन भावी पुस्ताको आवश्यकता पुर्ति गर्दै जानु दिगो विकास हो ।´ हामिले पढ्दै आएको दिगो बिकासको यिनै परिभाषासंग तुलना गरेर हेर्ने हो भने आजका प्राकृतिक दोहोनले निकै सिमा नाघि सकेको छ।

रोल्पा जिल्लाबाट मात्रै हालसम्म ३ वटा चुन ढुङ्गा खानी बर्षौँ देखि निरन्तर उखनन्को अवस्थामा छन्।जस मध्ये दुईवटा खानी रुन्टीगढी गाउँपालिका भित्र पर्दछ्न्।श्रोतका अनुसार रुन्टीगढी गाउँपालिकामा मात्रै करिब २२ भन्दा बढि चुरे पहाडहरु उद्योगहरुले दर्ता गरिसकेका छन्।हाल उत्खनन् भैइरहेका चुन ढुङ्गाबाट सिमेन्ट कारखानाहरुले सिमेन्ट उत्पादन गरेकै छन्।राज्यलाई कर तिरेकै होलान्।तर तिनै चुन ढुङ्गा बोकेर गुड्ने टिप्परका कारण घोराही-होलेरी शहिदमार्गको हालत शव्दमा ब्याख्या गर्न नसकिने अवस्था छ।

बिकासका सम्बन्धमा `बिकाससंगै बिनाश पनि हुन्छ´भन्ने प्रचलित उक्ति पनि छ।तथापि रुन्टीगढीका २ वटा चुन ढुंगाखानी केहि बर्ष निरन्तर चल्दा प्रकृति र पुर्वाधारको सर्वनाश भैसकेको छ।दिगो बिकासको अर्थ र सर्त कतै पालना गरिएन।अब कल्पना गरौँ यहि गतिमा रुन्टीगढीको मात्रै दर्तामा रहेका २२ भन्दा बढि चुन ढुङ्गा खानी एकैसाथ सञ्चालनमा आए भने प्रकृति र पुर्वाधारहरुको हालत कस्तो बन्ला।प्राकृतिक हिसाबले वरदान पाएको रोल्पा भुमि बिस्तारै नर्क बन्ने पक्का छ।हामिले बेलैमा बुद्धि पुर्याएर मनपरि उत्खनन र डोजर आतंकलाई रोक्न सकेनौं भने भावि पुस्ताले रुदै हामिलाई सराप्ने छन्।हाम्रै पालामा भैरहेको यस्तो खाले बिकासले हामि पनि रोएरै हिडिरहेको स्थिति छ।देशमा ३ तहको सरकार भएपनि आजसम्म सरकारको निति एकोहोरो मात्र देखिन्छ।खानी उत्खनन् गर्न अनुमति दिएर सरकारले न खानी उत्खननमा मापदण्डको नियमन गर्यो।न त सडक लगाएत अन्य भौतिक पुर्वाधार मर्मत गर्यो?

दिनरातको ध्वनि प्रदुषण,धुलो धुवा,सडक सञ्चाल ध्वस्त अब यो भन्दा हामिले भोग्नु पर्ने नियति बाकि छैन सायद।यद्यपि भावि पुस्ताहरुले यसको गुणात्मक असर भोग्नु पर्ने अवस्था आउँने अनुमान सजिलै गर्न सकिन्छ।बिकासनै गर्ने हो भने पनि सिमितता सहित पुर्ण मापदण्डको नियम पालना गराउनु पर्दथ्यो।सरकारले जनताका लागि संरक्षकका शाथै अबिभावकको भुमिका निर्वाह गराउँन सक्नु पर्दथ्यो।मनपरि रुपमा भएका जति सबै चुरे पर्बत उत्खनन् गर्न दिने निति अत्यन्तै घातक छ।अब बिस्तारै पहाडहरु खण्डहरमा परिणत हुँदै जाने पक्का छ।भनिन्छ मानिसका आधा फोक्सो रुख/बृक्ष हुन्।मानिसको आधा फोक्सोको रुपमा रहेका यिनै हरियाली बृक्षहरु र पर्वतहरुमा माथि डोजर आतंक मौलाउँन थालेपछि हाम्रो हालत कस्तो बन्दै जाला?`हरियो बन नेपालको धन´भन्ने हाम्रो मुलुकको राष्ट्रिय नारा समेत रहेको छ।यो नाराले हरियो बन जति सबै बेचेर धनि बन्ने भनेको हो र?पक्कै पनि होईन ।

हरियाली जति संरक्षण गर्न सक्यो त्यति नेपाल धनी हुने भनिएको हुनुपर्दछ।यसको अर्थ नेपाल प्राकृतिक रुपमा जति हरियो भयो त्यति हामि धनि भएको मानक हुनेछ।आज दुनियाँका प्रकृतिविदहरुले पनि मौसम तथा जलबायु परिबर्तन हुँदै जानुमा प्राकृतिक बिनाश र दोहोननै कारण रहेको पुष्टि गरिसकेको अवस्था छ।

हामिसंग भएका श्रोत/साधन उपयोगका लागिनै हुन्।तर आवश्यकता अनुरुप मापदण्डको पालना गरेर उपयोग गरिनु पर्दछ।छिटै धनि हुनलाई बनको सबै रुख कटान गरेर बेच्ने निति बनाउँन पाईन्छ?अवश्य पाइदैन।आज बिश्वका कुनै पनि मुलुकका ठाउँ र नागरिक प्राकृतिक प्रक्रोपको सिकार हुन्छन् भने देश देशको प्राकृतिक सन्तुलन गडबडी छ भनेर बुझ्नु पर्दछ।यस्तै प्रकार अब रोल्पामा प्राकृतिक दोहोनका लागि भैरहेको डोजर आतंक यहि गतिमा बढेर गएमा निकट भविष्यमै यहाँको जलबायूमा बिपरित परिबर्तन आउँने छ।भएका पानीका मुहानहरु सुक्दै जानेछन्।हाल चुन ढुङ्गा उत्खनन् भैरहेका क्षेत्रमा पानीका मुहान सुकि सकेको स्थानियहरु बताउँछन्।यसका शाथै गर्मी बढेर जानेछ।खेतीयोग्य जमिनबाट उर्वर शक्ति हराएर जानेछ।धुलो धुवा प्रदुषणले मानिसका दैनिकी बेचैन बन्दै जानेछन्।अणाबृष्टि र अतिबृष्टि जस्ता समस्या बढ्ने छ्न्।आगामी पुस्ता प्रदुषणको चरम शिकार बन्ने छन्।

हामिले खोजेको बिकास बिनाशक तथा अल्पकालीन हो र?
उद्योगहरुका अनेकौं प्रकार हुन्छन्।आज मुलुकमा सियो समेत बन्न सक्दैन।उद्योगपतिहरुले यस्ता अनेकौं कुराहरूमा लगानी गरेर देशको अर्थतन्त्रमा टेवा पुर्याउन सक्ने संभावना यथावत छ।
बर्षौ अगाडि सञ्चालनमा आएको बिराटनगरनगर जुट मिल उद्योग बन्द छ।जुत्ता उद्योग,चिनिमिल लगाएत सरकारी कलकारखाना तथा उद्योगहरु बन्द अवस्थामा छन्।उद्योगपतिहरुले प्रकृति दोहोनसंग सम्बन्धित उद्योगहरुमा लगानी गर्नु भन्दा यस्ता बिषयमा लगानी बढाउनु पर्ने आजको आवश्यक्ता हो।स्वदेशमै उत्पादन संभव हुँदाहुँदै पनि आयात भैरहेका बस्तुहरु उत्पादनमा जोड दिएर निर्यात गर्न सकेमा पनि मुलुक समृद्ध बन्ने कुरामा दुईमत छैन।

बढ्दो प्राकृतिक दोहोन नियन्त्रण गर्न नागरिकका भुमिका के?

नेपाल बिकास उन्मुख राष्ट्र हो।केहि बर्ष अगाडि हाम्रो मुलुकले बिकाशिल राष्ट्रको सुचिमा नाम दर्ज गराउन सफल भएको थियो।२०७२ शालको भुकम्पको क्षति कोरोनाकालिन समयको लकडाउनका कारण मुलुकको बिकास र अर्थतन्त्रमा गिरावट आएपछि पुन: मुलुक बिकास उन्मुखको सुचिमा खस्किएको छ।यस्तो अवस्थामा देशको अर्थतन्त्र उकास्न उद्योहरुको आवश्यक्ता तथा भुमिका निकै महत्त्वपूर्ण हुन्छ।उद्योग,कलकारखानाहरुलाई सबैले सहयोग गर्नुनै पर्ने हुन्छ।तथापि दिगो बिकाससंग सम्बन्धित नभएका प्रकृतिमाथि धावा बोलिने सर्वनाशको प्रायःका रुपमा सञ्चालित खानीहरु सञ्चालनमा भने सचेत नागरिकहरु एकजुट भएर सरकारलाई शसक्त खबरदारी गर्नै पर्ने हुन्छ।

हामि मानव जाति बसोबास गर्नका लागि ठुला/साना भिन्न भिन्न प्रकारका आआफ्नै घर निर्माण गरेका छौँ।हामि सबैलाई आफ्नो घरको मायाँ गर्दछौँ तथा शुरक्षा गर्दछौँ।ठिक यहि प्रकारले प्रकृति समस्त प्राणीहरुको साझा घर हो।प्रकृति जिबित रहेको खण्डमा मात्रै हामि जिबन्त रहन सक्दछौँ।प्राकृतिकको चरबद्व बिनासले मानव सहित समस्त प्राणीको अस्तित्व मेटाउँदै जान्छ।त्यसैले प्राकृतिक बिनाशका गतिविधिलाई सबै एकजुट भएर रोक्नु पर्दछ।घर जलाएर खरानीको आगो ताप्ने प्रवृत्तिको अन्त्य हामिलेनै गर्नु पर्दछ।

स्थानिय सरकारको भुमिका
प्राकृतिक दोहोन गरेर कुनैपनि बिषयमा स्थानिय सरकारले अनुमति दिन वा यस्ता कार्यमा कडा नियन गर्नुपर्ने हुन्छ।स्थानिय सरकारले उचित निर्णय गर्न सकेमा बढ्दै गैइरहेको ध्वनि प्रदुषण,बाताबरण प्रदुषण तथा पुर्वाधार बिग्रदै गएर नागरिकलाई पिडा बनिरहेका यस्ता गम्भिर प्रकृतिका दुरगामी बिषयमा आवश्यक बिश्लेषण सहित ठोस कदम उठाउँनु पर्दछ।
तव मात्र नागरिकका सहज दैनिकी स्वच्छ बातावरण,स्वस्थ जिबन,दिगो बिकास सबै संभव छ।प्राकृतिक दोहोन जस्ता आत्मघाती बिषयमा सबैभन्दा नजिकको सरकार स्थानिय सरकार सहित तिन तहकै सरकार गम्भीर बन्नै पर्दछ।

प्रतिक्रिया दिनुहोस