ताजा अपडेट

महिलाको नाममा जग्गा पास गर्ने बढे

तनहुँ- गत आर्थिक वर्ष २०७९/८० मा मालपोत कार्यालय तनहुँमा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको छ । गत आवमा कूल दुई हजार ८८४ चौरासी वटा लिखत पारित भएको महिलाका नाममा मात्रै दुई हजार ६२८ पास भएको कार्यालयले जनाएको छ ।

गत आवमा जग्गा रजिष्ट्रेसन पास वापत रु २४ लाख चौरासी हजार ६०२ राजस्वमा छुट दिएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए । महिला, दलित तथा जनजाति, सहिद परिवार, अपांगता भएका, ज्येष्ठ नागरिकको नाममा जग्गा पास गर्दा २५ प्रतिशत र कृषि क्षेत्रमा ५० प्रतिशत छुटको व्यवस्था छ ।

ग्रामीण क्षेत्रका महिलाको तुलनामा सहरी महिलाको नाममा जग्गा पास गर्नेको संख्या दोब्बर बढी रहेको तथ्यांकलेले देखाएको छ । ग्रामीण क्षेत्रका ९७० र सहरी क्षेत्रका एक हजार ९१४ महिलाले आफ्नो नाममा जग्गा पास गरेको कार्यालयको भनाइ छ ।

महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजस्वमा छुट पाउने भएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएको उनले बताए । मालपोत कार्यालय तनहुँले गत आवमा कूल रु ३० करोड ८४ लाख ३५४ राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार यो अघिल्लो आवको तुलनामा रु १३ करोड ८२ लाख ७४ हजार ६१० कम हो ।

त्यसैगरी आव २०७८/७९ मा चार हजार ५४२ लिखत पारित हुँदा रु चार करोड ५५ लाख तीन हजार ५२५ छुट भएको थियो । सो आवमा रु ४४ करोड ६८ लाख चार हजार ६६४ राजस्व संकलन भएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस