काठमाडौं- बागलुङमा मृत भेटिएका वरिष्ठ नायब निरीक्षक ( वरिष्ठ सई) उज्वल पौडेलको हत्या भएको खुलेको छ।
उनी मृत भेटिएका होटलका सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनका २० वर्षीय छोरा बिनोद कुँवरलाई पक्राउ गरी अनुसन्धान गर्दा वरिष्ठ सई हत्या भएको खुलेको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन केसीका अनुसार होटलमा खाजा खान गएका पौडेलसँग सामान्य विवाद हुँदा उनीहरू कुटपिटमा उत्रिएका थिए।
निर्घात् कुटपिटबाट बेहोस् भएका पौडेललाई आमाछोरा मिलेर कपडाले घाँटी कसेर हत्या गरेको खुलेको डिएसपी केसीले जानकारी दिए।
पौडेल मंगलबार बिहान २ बजे मृत फेला परेका थिए।
घटनापछि आशा र उनका छोरालाई पक्राउ गरी थप अनुसन्धान गर्दा उनीहरूले नै हत्या गरेको खुलेको हो।
‘मंगलबार राती साढे १२ बजे नै हत्या भइसकेको रहेछ,’ डिएसपी केसीले भने, ‘पौडेलले लगाएको सुनको सिक्री उनीहरूको किचन र्याकमा लुकाई राखेको अवस्थामा फेला परेको छ।’
उनीहरूविरूद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी केसीले जानकारी दिए।