विराटनगर-बाढीले बगाएको ६ वर्षपछि मोरङको बेलबारी नगरपालिका र ग्रामथान गाउँपालिका जोड्ने लोहन्द्रा खोलाको पुल र नहर मंगलबार एकैपटक उद्घाटन भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उद्घाटन गरेका हुन्।
लोहन्द्रा खोलाको पुल र नहर २०७४ को भीषण बाढीले बगाएको थियो। बाढीले पुल बगाउँदा यातायातका साधन खोलाबाटै आवतजावत हुँदै थियो भने नहरसमेत भत्किँदा स्थानीयबासीलाई सिँचाइको समस्या भएको थियो।
यहाँ बनेको नहर सुनसरी मोरङ सिँचाइ आयोजना अन्तर्गतको हो।
लोहन्दाको यही पुलको तल्लो भागबाट साइफन निर्माण गरेर नहर चलाइएको थियो। त्यसबेलाको बाढीले पुल भत्काउँदा नहरसमेत भत्काएको थियो।
सुनसरी मोरङ सिँचाइ आयोजनाका अनुसार ३४ करोड ९ लाख रुपैयाँको लागतमा पुल निर्माण सकिएको हो।
पुलले बेलबारी–ग्रामथान आवातजावत सहज भएको र नहर बनेसँगै लोहन्द्रा खोलाबाट १४ हजार हेक्टर जमिनमा सिंँचाइ सुविधा पुग्ने आयोजनाले जनाएको छ।
आयोजनाका निर्देशक भिलानन्द यादवका अनुसार १५३ मिटर लम्बाइको पुलमा ६ वटा स्पान छन्। १६ मिटर गहिराइबाट उठाएको र १ डायमिटरमा रहेको पुल ‘हाइवे स्टेण्डर’मा बनाइएको उनले बताए।
पुल र नहर निर्माणको लागि कूल लागत अनुमान ४७ करोड ३२ लाख थियो।
सुनसरी मोरङ सिँचाइ आयोजनाले ६८ हजार हेक्टर क्षेत्रफलमा खेती गर्न सिँचाइ सुविधा पुर्याउँदै आएको छ।