ताजा अपडेट

‘केन्द्रीय प्रभावबाट मुक्त हुने वातावरणका लागि पहल गर्छौं’

काठमाडौँ-सङ्घीय संसद् तथा प्रदेशसभाका सभामुख र उपसभामुखले सभाका कामकारबाहीलाई थप पारदर्शी, पहुँचयोग्य, उत्तरदायी र प्रभावकारी तुल्याउँदै प्राथमिकताका साथ कार्यान्वयन गर्ने दृढता व्यक्त गरेका छन्।

सङ्घीय संसद् तथा प्रदेशसभाका सभामुख र उपसभामुख सम्मिलित अनुभव आदानप्रदानसम्बन्धी काठमाडौँको चन्द्रागिरिमा सम्पन्न दुईदिने भेलाले सभाबीचको पारस्परिक सिकाइ र साझा सवालको पहिचानसहित १२ बुँदे निष्कर्ष निकालेको हो ।

प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, सातवटै प्रदेशसभाका सभामुख र उपसभामुखको भेलाले निर्माण भइसकेपछि कानुन कार्यान्वयनको अवस्था मापन गर्ने कार्यको थालनी गर्ने निर्णय गरेको छ ।

सङ्घ र प्रदेश स्वतन्त्र रहने मान्यतालाई आत्मसात् गर्दै सङ्घीय संसद्मा हुने राजनीतिक फेरबदलका कारण प्रदेशसभा प्रभावित हुने विषयलाई निरुत्साहित गर्ने विषयमा उनीहरुबीच सहमति भएको छ ।

केन्द्रीय प्रभावबाट मुक्त हुने वातावरणका लागि पहल गर्ने विषयमा पनि उहाँहरुबीच मतैक्यता रहेको भेलापछि जारी निष्कर्षमा उल्लेख छ । भेलाले कानुन कार्यान्वयनमा प्रभावकारिता ल्याउन कानुन निर्माणकै क्रममा आवश्यकता र कार्यान्वयनको सम्भाव्यता अध्ययन गर्ने निष्कर्ष निकालेको हो ।

सभा तथा संसदीय समितिबाट दिइएका निर्देशनको कार्यान्वयनको अवस्थाका बारेमा अध्ययन अनुसन्धान गर्ने कार्यलाई थप परिणाममुखी बनाउने र सोका लागि सभाबीच आपसी सहकार्य गर्ने प्रस्ताव पनि भेलाले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस