भरतपुर, ४ साउन । दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थानका रुपमा चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । निकुञ्जसँगै यहाँ रहेका सामुदायिक वन पनि गैँडाका लागि उपयुक्त बासस्थानका रुपमा रहेका छन् ।
कतिपय सामुदायिक वनले गैँडा देखाएर पर्यटन प्रबद्र्धनका साथै आयस्रोतको माध्यामसमेत बनाएका छन् । गैँडाका लागि भरतपुरको ज्ञानेश्वर ‘ब्लक’ क्षेत्र पनि उपयुक्त बासस्थान बनेको छ । यहाँका सामुदायिक वन गैँडाको प्रजननका लागि उपयुक्त क्षेत्र बन्दै गएका छन् ।
ज्ञानेश्वर ब्लक अन्तर्गत पाँच सामुदायिक वन रहेका छन् । यी सामुदायिक वन गैँडाको बासस्थानका लागि उपयुक्त क्षेत्र बनेको डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनाल बताउछन् । “बच्चासहितका गैँडा यहाँ प्रशस्त देखिन्छन्”, उनले भने, “प्रजननका लागि पनि गैँडाले यहाँका सामुदायिक वनलाई सुरक्षित महसुस गर्ने गरेका छन् ।” उनले यो क्षेत्रमा एकैपटक १४ सम्म गैँडा एकै ठाउँमा देखिएको बताएउनुभयो । यो क्षेत्रमा २०/२५ गैँडा नियमित रुपमा देखिने गरेको उनले बताए ।
ज्ञानेश्वर ब्लक अन्तर्गत भरतपुर महानगरपालिका–४ को नारायणी सामुदायिक वन, भरतपुर–१६ को ज्ञानेश्वर सामुदायिक वन, सेतीदेवी सामुदायिक वन र सिद्धिगणेश सामुदायिक वन तथा भरतपुर–१७ को मझुवा सामुदायिक वन रहेका छन् । यी सामुदायिक वनमा घाँसेमैदान र पोखरीको स्रोतको राम्रो व्यवस्थापन भएका कारण गैँडाका लागि उपयुक्त बासस्थान भएको खनालले बताए ।
ज्ञानेश्वर ब्लक निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको छ । सबै सामुदायिक वनको पश्चिम क्षेत्रमा नारायणी नदी छ । “अन्य वन्यजन्तु र मानिसको समेत अवरोध कम हुने भएका कारण पनि यहाँ गैँडाका लागि उपयुक्त छ”, खनालले भने । उनले सामुदायिक वनहरुमा घाँसे मैदान र पोखरी निर्माणका लागि डिभिजन वन कार्यालयले सहयोग गरेको बताए ।
सेतीदेवी सामुदायिक वनका अध्यक्ष सुकमान घलेले गैँडाका लागि उपयुक्त बासस्थान निर्माणको काम गरिएको बताए । उनले गैँडाको बासस्थान र प्रजननमा सहयोग पुग्नेगरी घाँसेमैदान र पोखरी निर्माण गरिएको बताए । सेतीदेवी सामुदायिक वनमा मात्र पाँच पोखरी रहेको उनले जानकारी दिए ।
“वनभित्र रहेका सात ब्लकमध्ये एउटा ब्लकमा मान्छेको प्रवेश पनि निषेध गरेका छौँ”, उनले भने, “वन्यजन्तुलाई अवरोध हुने गतिविधिमा रोक लगाएका छौँं ।” उनले बच्चा जन्माउनकै लागि गैँडा यहाँ आउने गरेको बताए । उनले आन्तरिक स्रोतबाट पनि वनभित्र सिमसार क्षेत्र निर्माणका लागि काम गरिरहेको जानकारी दिए ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जसँगै आसपास रहेका सामुदायिक वन पनि गैँडाको बासस्थान र प्रजननका लागि उपयुक्त रहेको बताए । उनले निकुञ्जको भित्रि क्षेत्र, घाँसेमैदान र ताल क्षेत्रमा बच्चासहितका गैँडा धेरै देखिने गरेको बताए । निकुञ्जको मध्यवर्तीसँग जोडिएको ज्ञानेश्वर ब्लक क्षेत्र पनि गैँडा धेरै देखिने क्षेत्र रहेको उनको भनाइ छ ।
गैँडा पाँच वर्षको उमेरपछि प्रजननका लागि तयार हुन्छ । घाँस राम्रो भएको समयमा गैँडामा सम्भोग गर्ने शक्ति बढ्नुका साथै गर्भका लागि तयार हुने गरेको तिवारीले बताए ।