हेलिकोप्टर उत्रेलगत्तै आठौं ब्रिगेडका लडाकूहरूले मोर्चा कस्छन् । सकेट बमको झेला बोकेका दुई युवती र तारबार काट्ने वा त्यसमुनिको जमिन खन्ने पालो कुरेर बसेका दुब्लापातला युवकहरू भिडियोमा देखिन्छन् । उनीहरूले तारमा नअल्झ्यिोस् भनेर कम लुगा लगाएका थिए।
२४ जुलाई २००५ मा सुर्खेत–जुम्ला सडक निर्माणका लागि तत्कालिन शाही नेपाली सेनाको एउटा इञ्जिनियर्स टुकडीलाई इन्फेन्ट्री कम्पनीको सहयोगमा कालीकोटको तिला नदी किनारमा नयाँ छाउनी बनाउन तैनाथ गरियो । माओवादी विद्रोह विस्तार र सुदृढ हुँदै जाँदा अधिकांश विकास–निर्माणका काम ठप्प भएकाले आफ्नो प्रतिष्ठा उठाउन राजा ज्ञानेन्द्रले मध्य वर्षामा यस्तो ठाडो आदेश दिएका थिए । आदेशको सम्भावित परिणामबारे उनलाई अवगत नगराई सिपाहीहरूलाई त्यस्तो स्थानमा पठाइयो, जसलाई पछि शाही सेनाका प्रवक्ता ब्रिगेडियर जनरल दीपक गुरुङले ‘रणनीतिक रूपले प्रतिकूल’ भनेका थिए । एउटा अर्को प्रतिवेदनले उनलाई उद्धृत गर्दै भनेको थियो, “पिलीमा छाउनी बनाउने निर्णय प्राविधिक थियो, रणनीतिक होइन । हामीले त्यस्तो आक्रमण बेहोर्नुपर्ने अपेक्षा गरेका थिएनौं ।”
त्यस्तो अपेक्षा नगर्नु शत्रुलाई कहिल्यै कम नआँक्नु भन्ने युद्ध सिद्धान्तको अवहेलना त छँदै थियो, साथै आफ्नो कर्तव्य निर्वाहमा चरम लापरवाहीको नमुना पनि । भिडियोमा देखिएअनुसार भिरालो पाखोको छाउनी माथिबाट हुनसक्ने आक्रमणबाट असुरक्षित थियो ।
माओवादीले पिलीमा शाही सेना तैनाथ हुन लागेको जानकारी पहिलो समूहका सिपाहीहरू त्यहाँ पुगेको १० दिन अर्थात् २ अगष्टमा पाएका थिए । त्यतिवेला ‘प्रभाकर’ पिलीबाट ७० किमी दक्षिणपूर्व जाजरकोटको दशेरा गाउँमा दोस्रो ब्रिगेडका साथमा थिए । बाजुरा जिल्ला सदरमुकाम मार्तडी आक्रमणको तयारीमा रहेका डिभिजन सह–कमान्डर ‘विविध’ पिलीदेखि ७० किमी पश्चिम कर्णाली नदीको अर्कोपट्टि अछामको तुर्माखाँदमा थिए ।
पिलीको पछिल्लो जानकारी पाउनासाथ उनीहरूले यसलाई सहज लक्ष्य ठानेर जतिसक्दो छिटो आक्रमण गर्ने निर्णय लिए । दिल्लीमा अन्य दलहरूसँगको विचार–विमर्शमा युद्धविराम हुनै लागेकाले पिली आक्रमणको स्वीकृति दिन ‘प्रचण्ड’ अन्कनाएका थिए । त्यसमाथि खारा पराजय पनि ताजै थियो । कमान्डरहरूले उनलाई सुनिश्चित सफलतामा आश्वस्त गराउँदै ७ अगष्टको मध्यान्हअघि नै तीनवटा ब्रिगेडलाई पिलीदेखि एक घण्टा पूर्व पाखा गाउँको राउत वस्तीमा एकत्रित गरे ।
जनमुक्ति सेनाले मुख्य हमलाअघिको तयारीलाई अन्तिम रुप दिन र कमान्डरहरूद्वारा आफू मातहतका लडाकू समूहलाई सम्बोधन गर्न ‘कोचिङ’ राख्ने गर्छ । त्यस्तै कार्यक्रमको एउटा भिडियोमा भेरी–कर्णाली क्षेत्रीय ब्युरो इन्चार्ज ‘प्रकाण्ड’को सटिक भनाइ थियो, “जुन सेनाले गल्ती गर्छ, हार हुन्छ । दुश्मनले त्यहाँ ठूलो गल्ती गरेको छ । …त्यो गल्तीलाई हाम्रा कमान्डर कामरेडले र सेनाले कति छिटो देख्न सक्छन् र आफ्नो पहलकदमीमा लिएर, वैज्ञानिक प्लानमा ढालेर अगाडि जान र एटेक गर्न सक्यो भने हामीले त्यो चिजलाई नियन्त्रणमा लिन सक्छौं ।” त्यसअघि ‘प्रभाकर’ले आफूहरूलाई निर्माणकालदेखि नै राम्रो जानकारी भएको पिलीका बङ्करहरू हिलोमाटोबाट बनाइएको बताए । उनले निर्माण कार्य चलिरहेकाले त्यहाँको प्रतिरक्षा संरचना त्यहीं गएपछि थाहाँ हुने पनि बताए ।
सोही दिन १५० किमी पर कालीकोटको रास्कोट–सिउना गाउँस्थित बडीमालिका माविमा तेस्रो र आठौं ब्रिगेडको ‘कोचिङ’ आयोजना गरियो । आफ्नो २० मिनेट लामो वक्तव्यमा ‘विविध’ले पिलीको वास्तविक प्रतिरक्षा स्थिति आक्रमणसँगै थाहा हुने भएपनि त्यसको अपूर्ण अवस्थाले विजय सुनिश्चित गरेको बताए । आक्रमणलाई लिएर पार्टी नेतृत्वको डरलाई सङ्केत गर्दै उनले भने, “तपाईंहरूलाई सफल भइँदैन जस्तो लाग्छ भने फर्किनुहोला ।” उनले पछिल्लो समयमा ‘जनमुक्ति सेना’ धेरै ठाउँमा गएको तर पार्टी नेतृत्वमा व्याप्त डरका कारण आक्रमण नगरी फर्केको उल्लेख गर्दै भने, “यो पटक हामीले जस्तै कठिनाई आइपरे पनि लड्नु र जित्नुपर्छ ।”
भिडियोमा ‘विविध’ले गरेका बलिदानसम्बन्धी व्यावहारिक कुरामा नेपाली माओवादीको प्राज्ञिक विश्लेषण गर्नेहरूले त्यति ख्याल गरेको देखिँदैन । त्यहाँ उनले ‘एकैचोटि अगाडि बढ्दा बलिदान नै मुख्य भएपनि हतियार, प्रविधि र आक्रमणका तौरतरिकालाई सामान्य रूपमा लिनु नहुने’ स्पष्ट गरेका छन् । “उचित तौरतरिका, नियम र विधिसहितको भयो भने वलिदान सहज रूपमा पचाउन सकिन्छ । कुनै चिजमा हाम्रो ढङ्ग नपुग्ने, प्रक्रिया नपुग्ने अनि त्यसपछि कार्यशैली, विधि र प्रक्रियामा खोट छ भने त्यस्तो अवस्थाको बलिदान स्वीकार गर्न गाह्रो हुनेछ”, उनले भनेका छन् । यो भनाइले विद्रोहमा हुने मृत्युलाई विचारहीन र अन्ध सैद्धान्तिक बलिदानको दृष्टिकोणबाट नभई व्यावहारिक पक्षबाट भिडन्तमा हुने मृत्युलाई विश्लेषण गरिएको देखिन्छ ।
‘विविध’ले बोल्न निम्त्याएका सम्भवतः बटालियन र कम्पनी तहका कमान्डरहरूको विचार पनि पिली भिडियोको महत्वपूर्ण पक्ष हो, जसमा चार जनाले बोलेका देखाइएको छ । युद्धस्थलका अनुभवी कमान्डर लाग्ने उनीहरू सबैको विचार विगतका लडाईंबाट पाठ नसिकिएको वा व्यवहारमा लागू नगरिएकोबारे सीधा, स्पष्ट र आलोचनात्मक थिए । पहिलो वक्ताले योजनाको बुझाइ र त्यसको कार्यान्वयनबीच एकरुपता नभएको बताउँदै त्यो हासिल गर्न सकिए जित्न सकिनेमा जोड दिए । खाराको उदाहरण दिँदै योजनाको फरक बुझाइले कार्यान्वयनमा सामञ्जस्य नहुने बताएका दोस्रो वक्ताले एउटा प्रासङ्गिक प्रश्नका साथ आफ्नो भनाइ राखेका थिए, “खारामा हामीलाई त लाग्छ, एकै ठाउँमा राखेर कोचिङ गरिएको हो । के कारणले विविधता आयो त ? युद्धका अगाडि गरिएको निर्णय र फोर्स गरिएको विधिको कार्यान्वयन भइरहेको छैन ।”
तेस्रो वक्ताले मोर्चाबद्ध वा परम्परागत युद्धमा प्रवेशको निर्णयमाथि नै प्रश्न उठाउने हिम्मत गर्दै भनेका थिए, “त्यहाँबाट फर्किने हो भने कि त पार्टी केन्द्रले रणनीतिक प्रत्याक्रमणको फौजी ग्राफमा पुनर्विचार गर्नु पर्यो । त्यहाँ गल्ती भयो कि भनेर हेर्नु पर्यो ।” चौथो वक्ताको भनाइले पहिलेका आक्रमणहरूको व्यावहारिक पक्षमा प्रकाश पार्छ । उनले ‘जनमुक्ति सेना’सँग भएको सीमित हतियार र प्रविधिको सीमासम्म त्यसको उपयोग गर्नुपर्ने र दुश्मनको हतियार उसकै विरुद्ध प्रयोग गर्नुपर्ने भनाइ राखेका थिए ।
निर्धारित समयमा आक्रमण स्थलमा पुग्न तीनवटा ब्रिगेडले दुई भिन्न बाटोबाट थोरै खाना र आराम लिँदै पाँच दिन कस्सिएर मार्च गर्नुपथ्र्यो । वर्षामा ४००० मिटर अग्ला टाकुराहरू छिचोल्नुपर्ने दुवै बाटो अत्यन्त कठिन थिए । दोस्रो ब्रिगेडले जाजरकोटबाट लगभग सीधा बाटो तय गर्नुपरे पनि तेस्रो र आठौं ब्रिगेडलाई मान्मदेखि उत्तर रामकोटको झरकोट पुल भएर कर्णाली पार गर्न पहिले उत्तरपूर्व लाग्नुपथ्र्यो । त्यसपछि, चुली हिमालबाट राउतगाउँ पुगेर दोस्रो ब्रिगेडलाई भेट्नु पर्थ्यो ।
अर्को भिडियोले जाजरकोटबाट ‘प्रभाकर’ र दोस्रो ब्रिगेडले गरेको मार्च, मध्य दिनको छोटो भेला र तिला नदीको लक्ष्यतिर झ्रेको दृश्य देखाएको छ । माओवादीहरूले मोर्चा लिन लाग्दा शाही नेपाली सेनाको निर्माणाधीन छाउनी भन्दा ३०० मिटर बाहिर एउटा हेलिकोप्टर उत्रिँदै गरेको देखिन्छ । आक्रमण शुरु भएपछिको भिडियो कम प्रकाश र अस्पष्ट फोकसले मधुरो देखिए पनि त्यसमा निहित सन्देशका कारण उल्लेखयोग्य छ । हेलिकोप्टर उत्रेलगत्तै आठौं ब्रिगेडका लडाकूहरूले मोर्चा कस्छन् । सकेट बमको झेला बोकेका दुई युवती र तारबार काट्ने वा त्यसमुनिको जमिन खन्ने पालो कुरेर बसेका दुब्लापातला युवकहरू भिडियोमा देखिन्छन् । उनीहरूले तारमा नअल्झ्यिोस् भनेर कम लुगा लगाएका थिए । तार काट्ने प्लाससहित दुई युवती र तिनका पछाडि तारमुनिको जमिनमा दुलो खन्ने औजार लिएका दुई केटा पनि बसेका थिए । सामरिक प्रतिरक्षा तोड्ने यस्तो खतरनाक कार्यमा उपयोग गरिएका यिनै महिला र लडाकूहरू मर्नेमा सम्भवतः बढी हुन्थे होलान् । सरकारी सैन्य सेवामा भए यस्ता सिपाहीको छाती असाधारण बहादुरीका पदकहरूले ढाकिएको हुन्छ ।
दिउँसो एक बजेको निर्धारित समयमै पाखागाउँ नजिकै राउत वस्तीमा भेट भएका ‘प्रभाकर’ र ‘विविध’ले साँझ् ६ बजे आक्रमणको समय निश्चित गरे । हरेक ब्रिगेडलाई एउटा वृत्तमा शाही सेनाको छाउनी घेरेर तारबार तोड्दै सकेसम्म भित्र पस्न आदेश दिइएको थियो । सबै दिशाबाट गरिने यस्तो आक्रमणले शत्रुपक्षमा अस्तव्यस्तता र अन्योल सिर्जना गर्नुका साथै आफ्नैतर्फ पनि क्षतिको जोखिम बढाउने हुनाले कमाण्डरहरूमा बहादुरी र कठोर नेतृत्वको दरकार पर्छ ।
शाही सेनाले सुरक्षा सावधानीमा गरेको ठूलो लापरवाहीको परिणामस्वरुप भएको यो आक्रमण असाधारण थियो । प्रतिरक्षा गर्नेहरू हेलिकोप्टरबाट सामान झर्ने धुनमा लागेका वेला ५:४५ मै माओवादी सेनाले गोलाबारी शुरु गरे । उनीहरूले सामान उतारिरहेका केही निःशस्त्र सिपाहीहरूलाई कब्जामा लिए, जसमा हेलिप्याडमा आएका कमान्डिङ अफिसर पनि भएको माओवादीको दाबी थियो । यही अन्योलको स्थितिमा भागेका छाउनीका मुख्य कमान्डर दुई दिनपछि ११४ सैनिकसँगै मान्ममा देखापरेका थिए ।
शाही सैनिकहरूको तीव्र बहिर्गमन र अस्तव्यस्त अवस्थाको चित्रण आक्रमणको ६ दिनपछि त्यहाँ पुगेका पहिलो पत्रकार तुलाराम पाण्डेको लेखमा थियो । मान्मदेखि पिलीको बाटोमा ‘सैनिक पोशाकका टुक्रा, फालिएका बुट, क्याप र गोलीका टोटा छरिएको’ देखेका उनले आक्रमणबाट उम्केर ‘भोकै–नाङ्गै’ अवस्थामा आएका सिपाहीहरूलाई आफूहरूले ‘खाना, कपडा र जुत्ता’ दिएको भन्ने गाउँलेहरूको भनाइ पनि उद्धृत गरेका थिए ।
पछि शाही नेपाली सेनाले आक्रमणको समयमा पिलीमा २२७ सिपाही भएको जानकारी दिए पनि ५८ मारिएका, ६० बन्दी बनाइएका र ११५ मान्म पुगेका हुनाले त्यो सङ्ख्या बढी देखियो । सँगसँगै उसले बहादुरीपूर्वक लड्ने र नलड्ने आफ्ना सैनिकबीच कुनै भेद नहुने गरी घटनामा पर्दा पनि हाल्यो । करिब ३००० माओवादी सहभागी लडाई खराब मौसमले गर्दा एमआई–१७ हेलिकोप्टरले हवाई आक्रमणबाट सहयोग पुर्याउन नसक्दा शाही नेपाली सेनाको प्रतिरोध चाँडै शिथिल भएर दुई घण्टामै सकिएको थियो । अनुपयुक्त र राम्रो सुरक्षा तयारी नभएको ठाउँमा यति थोरै सैनिक त्यति समय टिक्नु पनि ठूलै कुरा थियो । आक्रमणमा २६ माओवादी मारिएका थिए ।
शिविरमाथिको खुला ठाउँबाट आक्रमण गर्ने समूहमध्ये सात जनाको सेक्सनले एउटा जीपीएमजी ध्वस्त पार्दै त्यसको टोलीलाई मारेपछि लडाईंले मोड लिएको थियो । त्यसपछि माओवादीहरू पनि केही समय ‘मपिङ–अप’ (युद्धपछि बचेखुचेका दुश्मनहरू र सम्पर्कमा नरहेका सहयोद्धाहरूलाई खोज्ने कारबाही) मा व्यस्त भए र यसैले गर्दा भिडन्त कतिबेर चल्यो भन्ने कुरामा अन्तर आएको हो । माओवादीहरू थकित र भोकले लखतरान भएकाले लडाईंपछि सबैभन्दा पहिले उनीहरूले शाही सेनाको रासनबाट खाना पकाए । केही लडाकू सेनाका युद्धसामग्री र उपकरण ध्वस्त पार्ने र उठाउने काममा लागे । यस्ता क्रियाकलापले गाउँलेहरूलाई आक्रमणको अवधिबारे विभिन्न अनुमान गर्न प्रेरित गर्यो । माओवादीको पहिलो समूहले बिहान ६ बजे र उपयोगी सामानसहित ६० जना बन्दी सैनिक लिएको अन्तिम टोलीले मध्य दिनमा पिली छाडेको थियो ।
त्यहाँबाट माओवादीले ७० हजारभन्दा बढी गोलीगठ्ठा, १५० बम, ८१ एमएमको एउटा मोर्टार, एक थान जीपीएमजी, २० एलएमजी, ७० इन्सास राइफल र ८० वटा एसएलआर राइफल उठाए । त्यसको पाँच हप्तापछि जाजरकोटको भदाममा भएको पश्चिम डिभिजनको भेलामा ती हातहतियार प्रदर्शन गरिएको एउटा भिडियोले देखाएको छ । आक्रमणको भोलिपल्ट बिहान ११ बजे मात्र शाही नेपाली सेनाको एउटा टुकडी मान्मबाट पिली आइपुगेको थियो । बन्दी सैनिकहरूलाई १४ सेप्टेम्बरमा रेडक्रसको रोहबरमा छाडियो ।
शाही सेनाले पछि यहाँ भनिएभन्दा लामो समय प्रतिरक्षा गरेको दाबी गरे पनि त्यो स्तरको सेनाले सशक्त प्रतिरोध गरेको सङ्केत गर्दैन । उता जनादेश मा लेख्ने माओवादी पत्रकारहरूले ‘जनमुक्ति सेना’ले एमआई–१७ हेलिकप्टरको आक्रमणलाई पनि पराजित गरेको काल्पनिक दाबी गरेका थिए । शाही सेना भने पिली घटनामा ज्ञानेन्द्र र उनका प्रधानसेनापति प्यारजङ्ग थापा प्रत्यक्ष जोडिएकाले यसमा जिम्मेवार को थियो भन्ने प्रश्नबाट जनताको ध्यान अन्यत्र मोड्न तल्लीन देखियो । त्यस्तो प्रतिकूल अवस्थामा पनि बहादुरीपूर्वक लड्ने सिपाहीहरूप्रति यथोचित सम्मान प्रकट गर्ने कुरामा कसैले चासो देखाएन । उच्च नेतृत्वको अक्षमता र लापरवाहीलाई ढाकछोप गर्ने क्रममा सैनिकहरूको बलिदानलाई उपहास गर्ने र होच्याउने चेष्टा भयो । दिवङ्गत सिपाहीहरूको शव प्रदर्शन गर्ने जस्तो अनैतिक काम समेत गरियो ।
शाही नेपाली सेनाका लागि पिली घटना पूर्ण पराजय र गम्भीर बेइज्जती थियो भन्नेमा विवाद छैन । माओवादीका लागि राजनीतिक दृष्टिले महत्वको समयमा भएको यो घटनाले ‘जनमुक्ति सेना’को प्रतिष्ठा र सैन्य क्षमता माथि उठाउन सहयोग पुर्यायो । जटिल भौगोलिक अवस्था र कठिन परिस्थितिमा पनि उनीहरू यति छिटो आक्रमणमा केन्द्रित हुनसकेका देखिए । पिली आक्रमण र युद्धकौशल सुनत्सुले भने जस्तै कमजोरीमाथि बलको सफल प्रयोग थियो । आंशिक रूपमा छाउनी सुरक्षित पार्न नसक्ने शाही सेनाका स्थानीय कमान्डर र मूल रूपमा त्यस्तो खुला स्थानमा सिपाही तैनाथ गर्ने वरिष्ठ कमान्डरहरूको अक्षमता र गलत निर्णयको उपज थियो, पिली पराजय ।
(जनयुद्व सम्बन्धित खास भिडियोहरु हेर्नको लागि युटुवमा Top Nepal TV खोजि हेर्नसक्नुहुन्छ)